विराटनगर / आगामी स्थानीय  तहको चुनावमा प्रदेश १ को राजधानी विराटनगर महानगरपालिकामा नेपाली काँग्रेसले  एक्लै चुनाब लड्ने निर्णय लिएको छ ।

दुई दिन अघि बसेको बैठकले विराटनगरमा कुनै पनि गठबन्धन आवश्यक नपर्ने बताएको छ । विराटनगर महानगरपालिका भित्र रहेका १९ वटा वडा मध्ये कुनै पनि वडामा गठबन्धन नहुने  नगर सभापति दीपक चापागाईँले बताए । उनका अनुसार विराटनगरका सबै वडाहरूमा स्थानीय चुनाबका लागी उम्मेदवारको नामावली संकलन र सिफारिसको काम भइरहेको छ । ०७४ सालको निर्वाचनमा विराटनगरमा काँग्रेसले १९ नम्बर वडासहित ८ वटा वडा जितेको थियो , भने संघीय समाजवादी फोरमले ६, एमालेले ३, माओवादीले १ र स्वतन्त्र उम्मेदवार १ जनाले निर्वाचन जितेका थिए । कांग्रेसले यही मतका आधारमा आफू जित्ने आँकलन गरिरहेको छ ।

OM Sai Pathibhara Hospital
यता मोरङको सुनवर्षी नगरपालिकामा पनि कांग्रेसले कुनै गठबन्धन बिना नै स्थानीय तहको चुनाब लड्ने भएको छ । कांग्रेसको वडा समितिका सभापति, क्षेत्रीय प्रतिनिधि, महाधिवेशन प्रतिनिधि, प्रदेश प्रतिनिधिलगायत बुद्धिजीविको संयुक्त रुपमा  बुधबार बसेको बसेको बैठकले गठबन्धन नगर्ने निर्णय गरेको हो ।

सो बैठकले स्थानीय तहको चुनाबका लागी १४ जना नगरप्रमुख र ७ जनाको नाम उपप्रमुखमा सिफारिस समेत गरेका छ । नगरप्रमुख पदमा दाबी गर्नेहरूमा हाल नगर प्रमुख रहेका कालीप्रसाद दाहाल , कालीप्रसाद दास, गुलाम मोहिद्धिन, टेकबहादुर विष्ट, देवेन्द्र बहादुर बस्नेत, प्रताप तामाङ, वीरेन्द्रकुमार साह, महताब आलम, महेश्वर प्रसाद राजवंशी, मेदनी प्रसाद प्रसाईँ, यज्ञबहादुर कार्की, रमानन्द साह, शंकर कार्की र सत्यनारायण पण्डित रहेका छन् ।

 यस्तै उपप्रमुख पदका लागि दाबी गर्नेहरुमा खेमकुमारी कार्की, जानकी कुमारी केवरत, नरमाया प्रसाईँ बिमली, नारायणी देवी पण्डित, विमलादेवी दास, मञ्जुकुमारी राई र सुमनसरी राजवंशी रहेका छन् ।