बिर्तामोड / निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि शुक्रबार मध्यराति देखि आचारसंहिता लागू गर्ने भएको छ । 

OM Sai Pathibhara Hospital

आचारसंहिता पालना गर्ने प्रतिबद्धता पत्रमा राजनीतिक दललाई हस्ताक्षर गराइसकेपछि आयोगले शुक्रबार मध्यराति देखि आचारसंहिता लागू गर्ने भएको हो । 

चुनावमा सहभागी हुने दलहरूले आचारसंहिता लागू भएपछि त्यसको अक्षरंश पालना गर्नुपर्ने निर्वाचन आयोगको प्रतिवद्धता पत्रमा उल्लेख छ । 

सरकार, निजी क्षेत्र, संवैधानिक निकाय, राजनीतिक दल, सार्वजनिक पद धारण गरेका व्यक्ति सञ्चार माध्यम, गैरसरकारी संस्था, विद्यालय तथा विश्वविद्यालय, शिक्षक, कर्मचारी र मतदातालाई आचारसंहिता लागू हुने आयोगले जनाएको छ । 

आचारसंहिता लागू भएपछि कुनै पनि दल वा उम्मेदवारको पक्षमा भड्किलो प्रचार प्रसार गर्न नपाइने साथै योजनाको शिलान्यास, उद्घाटन, सर्वेक्षण लगायतका काम गर्न पाइँदैन । 

यसैगरी कुनै कर्मचारी नियुक्ति, सरुवा, पदस्थापन लगायतका काम गर्न पनि पाइँदैन, गर्नै परे निर्वाचन आयोगको अनुमति लिनुपर्छ । साथै सरकारी कर्मचारी र पदाधिकारी विदेश भ्रमणमा जानसमेत आयोगको अनुमति लिनुपर्ने छ । 

यसपटक स्थानीय तहको निर्वाचनको प्रचार प्रसारका लागि हेलिकप्टर प्रयोग गर्न पाइने छ भने साइकल, रिक्सा, ठेलागाडा, टाँगालगायतका सवारी साधन प्रयोग गर्न नपाइने निर्वाचन आचारसंहितामा उल्लेख छ । 

आचारसंहितामा स्थानीय प्रशासनको अनुमति नलिई सार्वजनिकस्थलमा कुनै किसिमको जुलुस, आमसभा, कोणसभा, बैठक एवं भेला गर्न नहुने, कार्यक्रम गर्नुभन्दा ७२ घण्टाअघि प्रशासन र प्रहरीलाई जानकारी दिनुपर्ने प्रावधान पनि छ । 

सबै राजनीतिक दलले बिहान आठ बजे देखि साँझ सात बजे सम्म मात्र चुनावको प्रचार प्रसार गर्न पाउने आचारसंहितामा उल्लेख छ ।