धरान / आसन्न स्थानीय तहको निर्वाचनमा धरान उपमहानगरपालिकामा सत्ता गठबन्धन दलले एउटै चुनाव चिन्हबाट उम्मेदवारी दिने भएका छन् । 

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाका नेताहरूले धरान उपमहानगरमा मेयर र उपमेयरबाहेक वडाअध्यक्ष देखि सदस्यले समेत एउटै चुनाव चिन्हबाट उम्मेदवारी दिने भएका हुन् । 

OM Sai Pathibhara Hospital

मंगलबार धरानमा बसेको गठबन्धन दलको बैठकले गठबन्धन दलका नेताहरू एउटै चुनाव चिन्हबाट उम्मेद्वार बन्ने निर्णय गरेको नेपाली कांग्रेस धरानका नगरसभापति श्याम पोखरेलले जानकारी दिए । 

पोखरेलका अनुसार एउटै चुनाव चिन्हबाट निर्वाचनमा उम्मेदवार बन्दा आइपर्ने कानुनी जटिलताको समाधानका बारेमा गठबन्धन दलबीच छलफल भइरहेको छ । 

वडामा छुट्टा छुट्टै चुनाव चिन्हबाट उम्मेदवार बन्दा मत बदर हुने सम्भावना बढी भएका कारण एउटै चुनाव चिन्हबाट चुनाव लड्ने तयारी भएको नेकपा माओवादीका एक नेताले बताए । 

धरान उपमहानगरमा २० वटा वडा रहेकोमा कांग्रेसले मेयरसहित १५ वटा वडामा दाबी गरेको बताइएको छ । धरानको मेयरमा गठबन्धन दल नेपाली कांग्रेसबाट तिलक राई र उमेश थापा, माओवादी केन्द्रबाट आइन्द्रबिक्रम बेघा, सभासद किरण राईको दाबी छ । 

त्यस्तै नेकपा एमालेबाट धरानको मेयरमा उपमेयर मञ्जु भण्डारी, मुरारी सुवेदी, विजय राई, मोतीराज सुनुवार, प्रकाश राई र मनोज मेन्याङ्बो लगायतले दाबी गरिरहेका छन् ।