विराटनगर / आगामी बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागी  मोरङको सुन्दरहरैंचा नगरपालिकाको मेयर पदमा डा. प्रकाश भट्टराईले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।  सुन्दरहरैंचा नगरपालिका-५ का भट्टराईले राजनीतिक दलभन्दा  बाहिर रहेर स्वतन्त्र उमेदवारको रुपमा उम्मेदवारी घोषणा गरेका हुन् । बिभिन्न क्षेत्रमा ज्ञान हासिल गरिसकेका उनले बुधबार  पत्रकार सम्मेलन गरेर आफ्नो उम्मेदवारी बारे धारणा सार्वजानिक गरेका थिए ।

नगरपालिका प्रमुख पदमा बिजयी भएमा  म जन्मे हुर्केको  सुन्दरहरैँचालाई अझै बढि सुन्दर र व्यवस्थित बनाउने सपनालाई मूर्तरूप प्रदान गर्न यहाँहरूको भरपर्दो साथ, सहयोग र समर्थनको अपेक्षा गरेको छु मेयर पदका आकांक्षी भट्टराईले भने । सामाजिक अभियन्ता, नीतिविश्लेषक तथा अनुसन्धानकर्ताको परिचय बनाएका भट्टराई लोकतन्त्र, सुशासन तथा सामाजिक न्यायको अभियानमा नेतृत्वदायी र व्यवसायिक भूमिकामा विगत २० वर्षदेखि अनवरत क्रियाशील रहेका छन् । 

OM Sai Pathibhara Hospital

 शान्ति तथा द्वन्द्व विषयमा न्युजिल्याण्डको ओटागो विश्वविद्यालयबाट विद्यावारिधि (पीएचडी) गरेका भट्टराईले अन्तर्राष्ट्रिय द्वन्द्व व्यवस्थापन विषयमा अमेरिकाको नोट्रेडाम विश्वविद्यालयबाट स्नातकोत्तर (एमए) पनि गरेका छन् । यस्तै उनले जनसङ्ख्या अध्ययन विषयमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर (एमए) गरेका छन् ।
उनले एशिया ग्लोबल फेलो, हङकङ विश्वविद्यालय, अतिथि अनुसन्धान फेलो उप्साला विश्वविद्यालय स्वीडेनसँग जोडिएर काम गरेको छन् । सङ्घीयता, लोकतन्त्र र नेपालको विकास आयामलाई राम्रोसँग बुझेका व्यक्ति स्थानीय सरकारको नेतृत्वमा आउनु आजको अपरिहार्य आवश्यकता देखिएको भन्दै आफ्नो उम्मेद्वारी बारे प्रष्ट पारेका छन् ।