बिर्तामाेड /  एक व्यापारीको नाममा आएको शंकास्पद रकम फुकुवा गर्न गैरकानुनी रुपमा अर्थमन्त्री जनार्दन शर्माले राष्ट्र  बैकलाई निर्देशन दिएका छन् । 

अछामको बन्नीगढी जयगढ घर भएका पृथ्वीबहादुर शाहको खातामा आएको ४० करोड रुपैयाँ राष्ट्र बैकले रोक्का गरेपछि अर्थमन्त्री जनार्दन शर्माले रकम फुकुवा गर्न राष्ट्र बैकलाई निर्देशन दिएका हुन् । 

OM Sai Pathibhara Hospital

अमेरिकाको सरकारी निकाय फाइनान्सियल क्राइम इन्फोर्समेन्ट नेटवर्क (फिनसेन)ले शाह र उनका परिवारको खातामा दुई महिना अघि शंकास्पद रुपमा आएको उक्त रकम जफत गरी अमेरिकालाई फिर्ता दिन भन्दै पत्राचार गरेको थियो । 

फिनसेनले पत्राचार गरेपछि राष्ट्र बैकले र बैंककै सिफारिसमा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले सो विषयमा अनुसन्धान गरिरहेका छन् । राष्ट्र बैंक र विभागले अनुसन्धान गरिरहेको विषयमा जनार्दन शर्माले पत्राचार गर्दै रकम फुकुवा गर्न निर्देशन दिएका हुन् । 

राष्ट्र  बैक आफै नियामक निकाय हो र सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालय मातहमा पर्छ । जसकारण राष्ट्र  बैक र विभागलाई अनुसन्धान रोक भनेर अर्थमन्त्रीले निर्देशन दिनु गैरकानुनी रहेको विभागका एक अधिकारीले बताए । 

स्रोतका अनुसार रेमिट्यान्सको रकम भन्दै शाहका विभिन्न कम्पनी र परिवारका सदस्यको खातामा रकम आएको थियो । जम्मा भएको रकम मध्ये केही रकम शाहले झिकिसकेको बताइएको छ ।  

शाहले काठमाडौंमा रेमिट, ट्राभल, टायल तथा मार्बलको पनि कारोबार गर्न कम्पनी खोले पनि उनको कारोबार यति ठूलो मात्रामा नभएको राष्ट्र बैंकको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

शाहले भने सो विषयमा राष्ट्र बैंक र सम्पत्ति शुद्धिकरण विभागले अनावश्यक रुपमा दुःख दिएको बताएका छन् । आफ्नो खातामा आएको रकम व्यापारबाट आएको साहको भनाइ छ  ।

साहले आफू राजनीतिमा सक्रिय नरहे पनि माओवादी राजनीतिमा सम्बन्ध रहेको बताएका छन् ।