बिर्तामोड / चालू आर्थिक वर्षको आठ महिनामा अघिल्लो आवको सोही अवधिको भन्दा दोब्बर सुन आयात भएको छ । गत आवको पहिलो आठ महिनामा १६ अर्ब ३६ करोड २५ लाख रुपैयाँबराबरको सुन आयात भएकोमा चालू आवमा ३२ अर्ब ६८ करोड ४१ लाख रुपैयाँको आयात भएको हो ।

भन्सार विभागको तथ्यांकअनुसार गत साउनदेखि फागुनसम्ममा सुन आयातमा ९९ प्रतिशतले वृद्धि भएको छ । सुनको मूल्य बढेकाले ठूलो रकमको सुन आयात भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले मूल्य बढेका कारण आठ महिनामै ३२ अर्बको सुन आयात भएको बताए । परिमाण भन्दा पनि रकमका आधारमा सुनको आयात धेरै देखिएको उनको भनाइ छ । 

OM Sai Pathibhara Hospital

सामान्य अवस्थामा दैनिक २५ देखि ३० किलो सुन बिक्री हुने गरेकोमा अहिले आधाले घटेको उनले बताए । लगातार मूल्य बढ्दै गएको र सिजन नभएकाले पनि व्यापार बढ्न नसकेको व्यवसायीहरुको भनाइ छ । फागुन अन्तिम साता सुनको मूल्य बढेर तोलाको १ लाख ५ हजार रुपैयाँसम्म पुगेको थियो । रुस र युक्रेनबीचको युद्धका कारण सुनको मूल्यमा उतारचढाव भइरहेको व्यवसायीको भनाइ छ ।

यसैबीच, आठ महिनाको अवधिमा १५ अर्ब ३६ करोड ६४ लाख ९ हजार रुपैयाँको चाँदी आयात भएको छ । अघिल्लो वर्ष सोही अवधिमा ३ अर्ब ८४ करोड ९८ लाख ७० हजार रुपैयाँको चाँदी आयात भएको थियो ।

नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा सञ्चितिमा चाप परेको भन्दै गत फागुन अन्तिम साता सुन आयातमा कटौती गरेर दैनिक १० किलोमा झारेको थियो । त्यसअघि दैनिक २० किलो सुन आयात हुँदै आएको थियो । लगातार मूल्य बढेकाले नेपाली पैसा विदेश जान सक्ने भन्दै केन्द्रीय बैंकले आयातमा कटौती गरेको हो ।