काठमाडौँ / नेपालका एक मात्र अर्बपति विनोद चौधरीको सम्पत्ति पछिल्लो एक वर्षमा १० करोड डलरले बढेको छ । प्रतिष्ठित फोर्ब्स म्यागाजिनका अनुसार चौधरीको समग्र सम्पत्ति १ अर्ब ५० करोड डलर पुगेको छ । उनी यस वर्ष विश्वका अर्बपतिहरूको सूचीमा १९२९ औं स्थानमा रहेका छन् ।

गत वर्ष विश्वका अर्बपतिहरूको सूचीमा उनी २१४१ औं स्थानमा थिए । गत वर्ष उनको सम्पत्ति पनि स्थिर देखिएको थियो । फोर्ब्सका अनुसार चौधरीको सम्पत्ति सन् २०१९ मा सबैभन्दा धेरै १ अर्ब ७० करोड डलर पुगेको थियो । तर, सन् २०२० मा १ अर्ब ४० करोड डलरमा झरेको थियो ।

OM Sai Pathibhara Hospital

फोर्ब्सका अनुसार यस वर्ष टेस्ला कम्पनीका सीईओ एलन मस्क अर्बपतिको सूचीमा पहिलो स्थानमा छन् । उनीसँग २ खर्ब १९ अर्ब डलरको सम्पत्ति छ । त्यस्तै दोस्रो स्थानमा जेफ बेजोस छन् । बेजोसको १ खर्ब ७१ अर्ब डलरको सम्पत्ति छ । यस वर्ष अर्बपतिको सूचीमा २६६८ जना अटाएका छन् ।