बिर्तामोड / आसन्न स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धन दलबीच चुनावी तालमेल गर्ने सहमति भएपनि सिट बाँडफाँडमा भने विवाद भएको छ ।

चुनावमा तालमेल गर्ने सैद्धान्तिक सहमति भएपनि सिट बाँडफाँडको मापदण्डबारे गठबन्धनमा आबद्ध पाँच दलले फरक–फरक प्रस्ताव ल्याएपछि विवाद भएको हो । 

OM Sai Pathibhara Hospital

दलहरूले आफू अनुकुल प्रस्ताव अगाडि सारे पनि गठबन्धनले औपचारिक छलफल गर्न भने बाँकी रहेको गठबन्धनका एक नेताले बताए । गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा रहेका छन् । 

सबैले सिट बाँडफाँडमा फरक–फरक मत राखेका छन् । गत स्थानीय तहको निर्वाचनमा जसले जहाँ जितेको छ उसले सोही स्थानीय तह लिने र एमालेसहित अन्य दलले जितेको ठाउँमा दोस्रो धेरै मत पाएको दलले प्रमुख, तेस्रो धेरै मत पाउनेले उपप्रमुख लिने कांग्रेसको प्रस्ताव छ । 

त्यस्तै यसअघि जितेका ठाउँमा यथावत् राख्दै एमालेले जितेका स्थानीय तहको मात्र भागबन्डा गर्ने माओवादीको प्रस्ताव छ भने एकीकृत समाजवादीले एमालेले जितेको ठाउँमा आफूले पाउनुपर्ने दावी गर्दै आएको छ । 

गठबन्धन दलको पहिलो ठुलो पार्टी कांग्रेस, दोस्रो ठुलो माओवादी र तेस्रो ठुलो एकीकृत समाजवादी हो । 

जनता समाजवादीले न्यायोचित ढंगले सिट बाँडफाँड गर्नुपर्ने प्रस्ताव अघि सारेको छ भने राष्ट्रिय जनमोर्चाले आफ्नो प्रभाव भएको ठाउँमा नेतृत्व पाउनुपर्ने दाबी गर्दै आएको छ ।