एजेन्सी / युक्रेनमा एक महिनाभन्दा लामो समयदेखि जारी रुसी आक्रमणमा १८ जना पत्रकार मारिएका छन् । गत फेब्रुअरी २४ मा रुसले सुरु गरेको आक्रमणको रिपोर्टिङका क्रममा हालसम्म १८ जना पत्रकार मारिएको युक्रेनको संस्कृति तथा सञ्चार मन्त्रालयले जनाएको छ । 

मन्त्रालयले टेलिग्राममा सार्वजनिक गरेको विवरणअनुसार १५ पुरुष र ३ महिला पत्रकार मारिएका हुन् । रिपोर्टिङका क्रममा अन्य १३ पत्रकार घाइते भएका छन् । ८ पत्रकार अपहरणमा परेको र ३ पत्रकार बेपत्ता भएको मन्त्रालयको तथ्यांक छ ।

OM Sai Pathibhara Hospital

विश्वभरका पत्रकारहरूको बारेमा जानकारी राख्ने रिपोर्टर्स विदआउट बोर्डर्सले भने रुस–युक्रेन युद्धमा मारिएका ७ पत्रकारको तथ्यांक राखेको छ । यसैबीच अमेरिकाले रुसलाई संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्बाट निलम्बन गर्न माग गरेको छ ।

युक्रेनको राजधानी किभस्थित बुचा सहरमा रुसी सेनाले कयौँ गैरन्यायिक हत्या गरेको भन्दै अमेरिकाले रुसलाई मानव अधिकार परिषदबाट निलम्बन गर्न आग्रह गरेको हो । युक्रेनले यो सहरमा ३ सयभन्दा बढी सर्वसाधारणलाई रुसले एकै चिहान बनाएको आरोप लगाएको छ ।

संयुक्त राष्ट्र संघका लागि अमेरिकी राजदूत लिन्डा थोमस ग्रिनफिल्डले रोमानिया यात्राका क्रममा रुसलाई मानव अधिकार परिषदको सदस्य बनाउनु लज्जास्पद भएको बताए ।