बिर्तामोड / स्थानीय निकायको निर्वाचनको मिति नजिकिएसँगै स्थानीय निकायका जनप्रतिनिधि नै दल फेरबदल गर्न थालेका छन् । अर्को निर्वाचनमा पनि उम्मेदवार बनेर पालिकाको नेतृत्वमा जान चाहेकोले दल फेरबदल गर्न थालेका हुन् ।

 आफू रहेको दलबाटै उम्मेदवार बन्ने अवस्था नदेखेपछि दल फेरबदल गर्न थालिएको मानिएको छ । मधेश प्रदेशमा सबैभन्दा वढी जनप्रतिनिधिले दल परिवर्तन गरिरहेका छन् । दल परिवर्तनको लर कै क्रममा माओवादी केन्द्रबाट उपमेयर बनेका दुई पालिकाका उपमेयर एमालेमा प्रवेश गरेका छन् । 

OM Sai Pathibhara Hospital

धनुषाको गणेशमान चारनाथ नगरपालिकाकी उपमेयर मीनाकुमारी यादव र विदेश नगरपालिकाकी उपमेयर निलम मण्डल एमालेमा प्रवेश गरेका हुन् । उपमेयर द्वयलाई काठमाडौंमा आयोजित कार्यक्रममा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका हुन् । सोमबार यादव र मंगलबार मण्डल एमालेमा प्रवेश गरेका हुन् ।

उपमेयर मण्डलले माओवादीका नेताहरूले आफूलाई वास्ता नगरेपछि बाध्य भएर एमालेमा प्रवेश गरेको बताएकी छन् । त्यसैगरी जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १० का  सुशील कर्ण, व्यवसायी मौसम बजाज, किसन मण्डल, रोशन यादव समेत एमालेमा प्रवेश गरेका छन् । 

कर्ण स्थानीय तहको निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालबाट जनकपुरधाम वडा नम्बरका उम्मेदवार थिए । उनी कांग्रेसका निर्वाचित वडा अध्यक्ष मिथिलेश कर्णसँग झिनो मतले पराजित भएका थिए ।

पार्टी प्रवेश कार्यक्रममा पूर्वमन्त्री समेत रहेका एमाले सचिव रघुवीर महासेठ, पोलिटब्युरो सदस्य जुलीकुमारी महतो, एमाले धनुषाका इन्चार्ज रामचन्द्र मण्डल, नेतृ प्रतीक्षा तिवारी, धनुषा एमालेका अध्यक्ष राजकिशोर यादवलगायतको उपस्थिति रहेको थियो ।