बिर्तामोड / झापाका चर्चित र सक्रिय पत्रकारका रुपमा परिचित मोहनकाजी न्यौपानेले पत्रकारिता पेसाबाट बिदा लिने निर्णय गरेका छन् ।  उनले पत्रकारिता छोडेर नेकपा एमालेमा प्रवेश गर्न लागेको बताए ।  

न्यौपानेले यस अघि नेपाल पत्रकार महासंघ झापाको सचिव र अध्यक्ष, महासङ्घको तत्कालीन पूर्वाञ्चल संयोजक र केन्द्रीय सदस्यको जिम्मेवारी सम्हाली सकेका छन्  । 

OM Sai Pathibhara Hospital

विवेचना, पूर्वाञ्चल, जनसंसद दैनिक हुँदै पछिल्लो समय लोकतन्त्र पोस्ट दैनिक र लोकतन्त्र पोस्ट डटकमको प्रधान सम्पादकको जिम्मेवारी बहन गरि सकेका न्यौपानेले अबको समय पत्रकारिताबाट  टाढा हुने र राजनीतिमा सक्रिय रहने बताए । नेकपा एमालेको झापा जिल्ला सदस्य र प्रेस चौतारी झापाको इन्चार्जको जिम्मेवारीमा रहेका उनले सक्रिय पत्रकारिता छोडेको जनाएका हुन् । न्यौपाने विगत तीन दशक लामो पत्रकारिता पेसामा सक्रिय रहेका थिए । 

सामाजिक संजालमा उनी लेख्छन् १
अब उप्रान्त राजनीतिमार्फत देश, समाज र आम नागरिकको सेवा गर्ने प्रण गरेको स्वघोषणा गर्दछु । राजनीति आफैमा कहिल्यै खराब र फोहोरी हुँदैन । त्यसमा लागेका पात्र खराब र तिनका प्रवृत्तिहरू फोहोरी हुन सक्छन् । म सर्वथा निःस्वार्थ, सदाचारी र इमानका साथ राजनीतिक गतिविधिमा क्रियाशील रहने बाचा गर्दछु ।

‘नेता खराब भए’ भनेर जहिल्यै गाली मात्र गर्ने अनि नीतिप्रति नै वितृष्णा जगाउने कार्य गर्नु ठिक होइन । राजनीतिमै प्रवेश गरेर अरुलाई बाटो देखाउने हिम्मत पनि देखाउनु पर्दछ । अरुलाई ‘राम्रो बन्नु पर्छ’ भनेर भन्नका लागि ‘आफ्नो व्यवहार पनि राम्रो हुनुपर्दछ’ भन्ने भनाइले मलाई सँधै उत्प्रेरित गरिरहन्छ । पत्रकारिता जीवनको तीन दशकमा मेरो प्राथमिकता राजनीति थिएन । किनकि, म पत्रकारिता व्यावसायिक हुनुपर्छ भन्ने मान्यतामा निष्ठावान् रहिरहेँ । सबै आस्थाका मित्रहरूको म जहिल्यै साझा बन्न प्रयत्नरत रहेँ । तर, अब नेकपा एमालेको सदस्य छु । कार्यकर्ता बनेको छु ।

अबका मेरा विचार र मेरा क्रियाकलाप एमालेको पक्षमा हुनेछन् । मैले गर्ने राजनीति देश, जनता र समाजको विपक्षमा कहिल्यै हुनेछैन । एमालेले गल्ती गर्यो भने खबरदारी गर्नेछु, सच्याउन लगाउने भूमिका निर्वाह गर्नेछु । एमालेका असल नीतिहरूको अनुयायी र असल कर्महरूको प्रचारक बन्नेछु । मेरा मित्रहरु नेकपा एमालेमा मात्र सीमित छैनन् । अरु पार्टीमा रहनु भएका मित्रहरुलाई म कहिल्यै गाली र घृणा गर्ने छैन । मन पर्ने राजनीतिक आस्था रोज्न पाउने उहाँहरुको अधिकारको म जहिल्यै सम्मान गर्नेछु । पत्रकारिता नछोडिदिएको भए हुनेथियो भनेर सद्भाव राख्नेहरुप्रति आभार व्यक्त गर्दछु ।

पार्टीको कार्यकर्ता नभइदिए हुनेथियो भनेर असल नियतले सुझाव राख्नेहरुप्रति क्षमा चाहन्छु । राजनीतिलाई पेशा होइन, समाजको सेवा गर्ने माध्यम बनाउनेछु । वादभन्दा माथि हुन्छ देश । त्यसैले बादहरु भन्दा पनि प्यारो लाग्छ नेपाल । तन्त्रहरुमा सबैभन्दा राम्रो लाग्छ लोकतन्त्र । किनकि, त्यहाँ आफुलाई मन परेको पार्टी रोज्न पाइन्छ । पार्टीहरुमध्ये एउटा छान्नु पर्दा सबैभन्दा प्यारो लाग्छ नेकपा एमाले । सबै पार्टीहरु असल हुन् भने तीमध्ये सबैभन्दा असल एमाले नै हो । सबै पार्टीहरु खराब भए कसैले भन्छ भने तीमध्ये सबैभन्दा कम खराब एमाले नै हो । अबदेखि सामाजिक मञ्च र सञ्जालहरुमा मेरा विचार एमालेमय हुने पूर्व जानकारी गराउँदछु । शुभचिन्तकहरुको ताली वा गाली स्वीकार्य छ ।