बिर्तामोड / काम गर्ने शैली र विवादास्पद अभिव्यक्तिका कारण पटकपटक विवादमा तानिने गरेका इटहरी उपमहानगरपालिकाका मेयर पुनः विवादमा तानिएका छन् । 

उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमको सवारीसाधन खोसेको अभिव्यक्ति दिएपछि मेयर द्वारिकालाल चौधरी विवादमा तानिएका हुन् । 

OM Sai Pathibhara Hospital

मेयर चौधरीले गत चैत १ गते सामाजिक सञ्जाल फेसबुक मार्फत उपमेर गौतमले एक वर्षदेखि दुरुपयोग गर्दै आएकोले उनको गाडी खोसिएको बताएका थिए ।  

मेयर चौधरीले फेसबुकमा यस्तो लेखेका छन्, –‘उपमेयरको गाडी खोसियो समाचार प्रति ध्यानाकर्षण भएको छ । एक वर्षदेखि गाडी दुरुपयोग गर्दै थिइन । दल विशेषको काममा सार्वजनिक सम्पती दुरुपयोग गर्न पाइदैन । रोजेर ड्राइभर पाइँदैन ।’ 

मेयर चौधरीले पालिकाको गाडी खोसेको विषयमा उपमेयर गौतमले भने उपमेयरले सरकारी गाडी उपयोग गर्ने कानुनमै व्यवस्था भएका कारण गाडी खोस्ने अधिकार कसैलाई नभएको बताउँछिन् । आफू पालिकाकै कामको लागि गएको गौतमको भनाइ छ ।  

उनी भन्छिन् , –‘म काठमाडौँ पालिकाको कामका लागि गएको थिए । यदि मैले पालिकाको गाडी लैजाँदा दुरुपयोग हुन्छ भने मेयर चौधरीले पनि पार्टीको महाधिवेशनमा चितवन जाँदा गाडीको दुरुपयोग गरेका हुन् ।’

मेयर चौधरीले आफू काठमाडौँ भएका बेला गत चैत १ गते चार बजे भित्र गाडी ल्याउनु भन्दै गाडी चालकलाई धम्की दिएको गौतम बताउँछिन् । 

चालकले गाडी ल्याएर मेयर चौधरीलाई जिम्मा लगाएपछि चौधरीले उक्त गाडी आफ्नो घरमा लगेर राखेको स्रोतले जनाएको छ । मेयर चौधरीले पालिकाको गाडी घरमा राखेको भन्दै सामाजिक सञ्जालमा टिप्पणी हुन थालेपछि पुनः १३ दिन पछि गाडी पालिकामै पुर्याएको बताइएको छ । 

यो विषयमा मेयर चौधरीसँग पटक पटक कुरा गर्न खोज्दा उनको फोन नलागेका कारण कुरा हुन् सकेन । 

यस्तो हर्कत मेयर चौधरीले पहिलोपटक भने गरेका होइनन् । पहिला पनि मेयर चौधरीको कार्यशैली र अभिव्यक्तिका कारण बेलाबेला चर्च हुने गरेको छ । एमालेका पूर्व जिल्ला अध्यक्ष समेत रहेका चौधरीले पत्रकारलाई नाकको डाँडी भाँच्ने धम्की दिएर समेत विवादमा तानिएका थिए । 

त्यसलगत्तै चौधरी माथि सडक मिचेर घर बनाएको आरोप लागेको थियो । चौधरीले सडक मिचेर घर बनाएको भए आफै घर भत्काउने बताएका थिए । केही समय पछि सडक मिचेर बनाइएको संरचना भत्काउने अभियान नै चलाएर मेयर चौधरीले आफ्नै घरको पर्खाल डोजर लगाएर भत्काएका थिए । 

त्यस्तै गत साउन २६ गते पैनी माथि घर बनाउने अनुमति दिएको भन्दै इटहरी –४ आइतबारेका यमप्रसाद ढकाललाई प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा चौधरीले थुनिदिएका थिए । 

यति मात्र नभइ गत कार्तिक २८ गते इनरुवास्थित ओमसाई पार्टी प्यालेसमा बसेको एमालेको बैठकमा बोलीरहेका पार्टी इन्चार्ज धर्म निरौलाको माइक खोसेर अर्को हर्कत देखाएका थिए ।