वीरगन्ज / मुलुक निर्वाचनमय भएका समयमा मधेश प्रदेशमा स्थापित राजनीतिक दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले मधेशमा निर्णायक आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

लोसपाले वीरगञ्जमा निकालेको ‘स्वाभिमान यात्रा’ पछि आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ठाकुरले मधेसीमाथि शासकले विभेद जारी राखेको भन्दै निर्णायक आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

मधेशी जनताको अधिकारका लागि  सुरु भएको आन्दोलन र विद्रोह जारी रहेको बताउँदै उनले आन्दोलनमा उत्रिएकामाथि झुटा मुद्दा लगाएको दावी गरेका छन् । यादवले मधेशी जनताको अधिकार प्राप्तिको आन्दोलन जारी राख्ने बताउँदै मधेस प्रदेशमा २२ जिल्ला नै रहनुपर्ने माग समेत गरेका छन् । मधेसी जनतालाई अल्पमतमा पार्न ८ जिल्लालाई मात्रै समेटिएको उनको जिकिर थियो ।

सभालाई सम्बोधन गर्दै अर्का नेता राजेन्द्र महतोले पनि मधेसीको बाँकी अधिकार प्राप्तिका लागि निर्णायक आन्दोलन हुने बताए । उनले मधेसले आंशिक रुपमा मात्रै अधिकार पाएको भन्दै बाँकी अधिकार प्राप्तिका लागि छिट्टै अर्को मधेस आन्दोलन सुरु हुने उद्घोष गरेका छन् ।

अर्का नेता अनिल झाले मधेसी जनताको भोट लिएर सत्ताको स्वाद चाखिरहेको जसपा अब मधेसी दल नरहेको बताए । उनले मधेसको अधिकार र मधेसको मुद्दा बोकेर अहिलेपनि संघर्ष गरिरहेकाले लोसपा नै अब एकमात्र मधेसी दल रहेको दावी गरेका छन् । लोसपा पर्साका अध्यक्ष पुरुषोत्तमलाल झाको अध्यक्षतामा आयोजित सभालाई लोसपा नेता लक्ष्मणलाल कर्ण, शशीकपुर मिया, प्रहलाद गिरीलगायतका नेताहरूले सम्बोधन गरेका थिए ।