बिर्तामोड / भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेर बहादुर देउवा नेपालसँग सिमाना जोडिएको उत्तर प्रदेशको बनारस पुगेका छन् । भ्रमणको अन्तिम दिन देउवा भारतीय सत्तारुढ दलकै प्रदेश सरकार रहेको धार्मिक महत्वको भूमि बनारस पुगेका हुन् ।

बनारस पुगेका उनलाई मुख्यमन्त्री आदित्यनाथ योगीले स्वागत गरेका छन् । भारतीय सत्तारुढ दल भाजपाका शक्तिशाली नेता समेत रहेका नेपाली मूलका मुख्यमन्त्री नेपाललाई हिन्दु राष्ट्र बनाउने पक्षमा विगत देखि नै सकृय रहँदै आएका छन् ।

उनी पूर्वराजा ज्ञानेन्द्र शाह निकट मानिन्छन् ।आफू सत्तामा नै रहेको बेला उनले पटक–पटक नेपाललाई राजसंस्था सहितको हिन्दु राष्ट्र बनाउने भनेर अभिव्यक्ति दिएका छन् ।

देउवाको भ्रमणमा हिन्दुत्व झल्किएको भनेर टिप्पणी भईरहेका बेला बनारसको धार्मिक भ्रमण र आदित्यनाथसँगको भेटलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रुपमा लिइएको छ ।

रुस–युक्रेन युद्धका कारण फेरिन थालेको भूराजनीति प्रभावकै कारण नेपालका दुई छिमेकी मुलुक भारत र चिनका बिचमा नेपाल सहितका दक्षिण एशियाली मुलुकमा टु प्लस वन निती अपनाउने विषयमा छलफल सुरु भएकै समयमा भएको देउवाको भ्रमणका समयमा समेत सो विषयमा छलफल भएको अनुमान गरिएको छ ।

विगतमा अमेरिका र पश्चिमा मुलुकसँगको समन्वयमा नेपाल निती अङ्गाल्ने गरेको भारत रुस र चिन सँग नजिकिएको समयमा भएको देउवाको भ्रमणका समयमा मोदी र देउवाबीच नेपालमा अमेरिका र पश्चिमा मुलुकको प्रभाव घटाउने विषयमा समेत छलफल भएको बताईएको छ ।

चिनिँया र रसियाका विदेशमन्त्रीको भ्रमण सँगसँगै भारत पुगेका देउवा भ्रमण सकेर फर्किने तयारी गरिरहेको समयमा पूर्वराजा ज्ञानेन्द्र शाह भारत भ्रमणमा जान लागेको सार्वजनिक भएको छ ।

नयाँ वर्ष मनाउन भनेर झापाको दमक स्थित हिमालय टि स्टेट आएका उनी भारतको पश्चिम बंगाल हुँदै भारत जान लागेको शाह निकट स्रोतले जानकारी गराएको छ । नेपाललाई हिन्दु राष्ट्र बनाउने पक्षमा रहेका आदित्यनाथ योगी र भारतीय धर्मगुरुहरुको निम्तामा भारत जान लागेका शाहले भारत भ्रमणका समयमा भारतीय सत्तारुढ दलका नेताहरूसँग छलफल गर्ने स्रोतले दावी गरेको छ ।

आइतबार आज नै स्वदेश फर्किने तयारीमा रहेका देउवाले बनारसको काशी स्थित विश्वनाथ धाममा धार्मिक पूजाआजा गर्ने कार्यक्रम समेत रहेको छ । बनारस पुगेका देउवा आज नै अपरान्ह ४ बजे बनारसबाट दिल्ली फर्केर नेपाल आउने कार्यक्रम रहेको छ ।