बिर्तामोड / भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई सुदुरपश्चिमकै बहुचर्चित पञ्चेश्वर परियोजनालाई तीव्र रुपमा अघि बढाउने आश्वासन दिएका छन्।  

मोदीले नयाँदिल्लीमा शनिबार दुई देशका प्रधानमन्त्री सम्मिलित नेपाल–भारत उच्चस्तरीय द्विपक्षीय बैठकपछि संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उक्त आश्वासन दिएका हुन्। 

OM Sai Pathibhara Hospital

मोदीले भने, –‘पञ्चेश्वर परियोजना तीव्ररुपमा अघि बढाउन जोड दिएका छौं। यो परियोजना यस क्षेत्रका जनताको लागि एउटा गेम चेन्जर परियोजना हुनेछ ।’ 

बैतडीको पञ्चेश्वर गाउँपालिका –१ रोलघाटमा बन्ने पञ्चेश्वर आयोजनाको सन् १९९६ देखि नै चर्चा भएपनि देउवा सरकारको नेतृत्वमा भएका बेला बि. सं. २०५२ साल माघ २९ गते मात्र नेपाल र भारतबीच सन्धी सम्झौता भएको थियो ।  

सम्झौतामा नेपाल र भारतको संयुक्त लगानीमा उक्त आयोजना सञ्चालन गर्ने निर्णय भएको थियो । तर आयोजनाको काम नेपाल–भारतबीच पानी बाँडफाँडका विषयमा कुरा नमिल्दा परियोजनाले गति लिन सकेको छैन ।   

नेपालका प्रधानमन्त्रीले भारत भ्रमण गर्दा होस् वा भारतीय प्रधानमन्त्री नेपाल आउँदा प्रत्येक पटक पञ्चेश्वर मुद्दा उठ्ने गरेको छ। प्रत्येक पटक भारतीय पक्षले पञ्चेश्वर परियोजनालाई तीव्ररुपमा अघि बढाउने आश्वासन दिँदै आएको छ। 

यसपटक प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको बेला पनि भारतीय प्रधानमन्त्रीले सो आश्वासन दिएका हुन्।