काठमाडौँ  / प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा रु पे कार्ड र सोलु करिडोर प्रसारण लाइन आयोजनाको उद्घाटन गरेका छन् । 

भारत भ्रमणका क्रममा रहेका देउवा र भारतका प्रधानमन्त्री मोदीले संयुक्त रुपमा विश्वव्यापी भुक्तानी कार्ड र सोलु करिडोरको उद्घाटन गरेका हुन् । 

OM Sai Pathibhara Hospital

भारतको ‘नेसनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डिया (एनपीसीआई)’ मा आबद्ध भएको  ‘रुपे’ भारत आफैँले विकास गरेको हो ।

‘भिसा’ र ‘मास्टर कार्ड’ जस्तै उक्त कार्ड भारतका बैंकहरूले चलाउन थालेका छन् । त्यस कार्डलाई अब नेपालको बैंकसँग पनि जोड्न सकिने भएको छ  ।

७० करोड भारतीयले प्रयोग गर्ने दावी गरिएको सो कार्ड नेपालमा एसबिआई बैंकमार्फत चल्ने जनाइएको छ । जसले नेपालमा आर्थिक गतिविधि बढाउन तथा नेपालमा आउने भारतीय पर्यटकहरूका लागि सहज हुने अपेक्षा गरिएको छ ।

त्यस्तै भारतको तीन अर्ब २० करोड रुपैयाँ सहुलियत ऋणमा निर्मित ९० किलोमिटर लामो सोलु करिडोर १३२ केभी प्रसारण लाइन आयोजना पनि उद्घाटन गरी नेपाल सरकारलाई हस्तान्तरण गरिएको हो । 

यसअघि दुई देशका प्रधानमन्त्रीले नेपाल रेल सेवाको संयुक्त रुपमा उद्घाटन गरेका थिए । भारतीय सहयोगमा निर्मित नेपालको कुर्थादेखि भारतको जयनगरसम्मको ३५ किलोमिटर लामो सीमापार रेल लिंक उद्घाटन गरेका हुन् ।