बिर्तामोड / भारतको नयाँ दिल्लीमा नेपालभारत द्विपक्षीय बैठकपछि प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले आजै विभिन्न चार परियोजनाको संयुक्त रूपमा उद्घाटन गर्दै छन् ।

निर्धारित कार्यक्रम अनुसार स्थानीय समयअनुसार शनिवार मध्यान्ह साढे १२ बजे नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा नेपाल-भारत द्विपक्षीय बैठक सम्पन्न हुनेछ । बैठकमा नेपालको नेतृत्व प्रधानमन्त्री शेरबहादुर देउवा र भारतको नेतृत्व भारतीय प्रधानमन्त्री मोदीले गर्नेछन् ।

बैठक सम्पन्न भएपछि दुवै देशका प्रधानमन्त्रीले चार वटा परियोजनाको संयुक्त रूपमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उद्घाटन कार्यक्रम भने भर्चुअल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

संयुक्त रूपमा उद्घाटन गरिने परियोजनामा भूकम्पपछि पुनर्निर्माण भएका १३२ वटा स्वास्थ्य चौकी, नेपाल र भारतबीच रूपी कार्ड सञ्चालन, ९० किलोमिटर लामो १३२ केभीको सोलु करिडोर प्रसारण लाइन र कुर्था–जयनगर ३५ किलोमिटर रेल सेवा रहेका छन् । हैदरावाद हाउसबाट दुवै देशका प्रधानमन्त्रीले रिमोर् मार्फत यी परियोजनाको उद्घाटन गर्नेछन् ।