बिर्तामोड / एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सत्ताच्युत गरी मुलुकको पाँचौ पटक प्रधानमन्त्री भएका शेर बहादुर देउवाको भारत भ्रमण विवादमा तानिएको छ ।

शुक्रबार चार मन्त्री सहित ५० सदस्यीय जम्बो प्रतिनिधि मण्डल लिएर भारत निस्केका प्रधानमन्त्री देउवाको भारत भ्रमण तालिका सार्वजनिक भए लगत्तै भ्रमण विवादमा तानिएको हो ।

प्रधानमन्त्रीको भ्रमणका क्रममा भारतीय सत्तारुढ दल भारतीय जनता पार्टीको मुख्यालयमा नै पुगेर सत्तारुढ दलका नेतासँग भेट गर्ने कार्यसूची सार्वजनिक भएपछि भ्रमण नेपाल र भारत दुवै मुलुकमा विवादमा तानिएको हो ।

यसअघि नेपाल र भारत दुवै मुलुकका प्रधानमन्त्रीको भ्रमणका क्रममा दलका नेताहरूसँग दलको कार्यालय बाहिर नै भेट्ने परम्परा रहेको थियो । कूटनीतिक मर्यादाका हिसाबले पनि प्रधानमन्त्रीले विदेश भ्रमणको समयमा दलका कार्यालयमा पुगेर नेताहरूसँग भेट गर्नु अनुचित मानिने गरेको छ ।

प्रधानमन्त्रीको सार्वजनिक भएको भ्रमण तालिकामा प्रमुख प्रतिपक्षी दल सहित अन्य भारतीय राजनैतिक दलका नेतासँग भेट्ने कार्यक्रम नरहेकाले यो भ्रमण नेपाल र भारत दुवै मुलुकमा विवादमा तानिएको हो ।

नेपाली कांग्रेसको स्थापना कालदेखि नै भारतको अर्को ठूलो दल काँग्रेस आईसँग बलियो अनि घनिष्ठ सम्बन्ध रहेको थियो । भारतमा भाजपाले सत्तामा कब्जा जमाएपछि निरन्तर भाजपासँग सम्बन्ध सुधारको पक्षमा रहेका देउवाले भाजपासँग सम्बन्ध सुधारकै लागि अन्य दलका नेतासँग भेट नगरी कूटनीतिक मर्यादा नाघेर भाजपाको मुख्यालयमा जाने निर्णय गरेको अड्कल काटिएको छ ।

यसअघि भारत भ्रमणमा जाने प्रधानमन्त्री र राष्ट्र प्रमुखले भ्रमण अघि पूर्व सरकार प्रमुख , विदेशमन्त्री , कूटनीतिक क्षेत्रका विज्ञ अनि ठूला राजनीतिक दलका शीर्ष नेतासँग छलफल गरी भ्रमणका एजेण्डा तय गर्ने गरेको भएपनि यसपटक भने उनी विगतको परम्परा पन्छाउँदै भ्रमणमा निस्केका छन् ।

हरेक वर्ष नेपाली सेनाले आयोजना गर्ने घोडेजात्रामा राष्ट्रपति अथवा राष्ट्र प्रमुखसँग प्रधानमन्त्री पनि उपस्थित रहने परम्परा रहेकोमा देउवा भारत भ्रमणलाई कारण देखाउँदै घोडेजात्रामा समेत अनुपस्थित भएका छन् ।

भारतसँग सम्बन्ध सुधार गर्ने राजकीय भ्रमण भनिए पनि यसपटकको देउवाको भ्रमण भारतीय सत्तारुढ दलसँगको सम्बन्धका लागि मात्रै भएको विकसित घटनाक्रमले देखाएका छन् । कूटनीतिक क्षेत्रका विज्ञले समेत देउवाले आफ्नो पद अनि कूटनीतिक मर्यादा भुलेर भाजपासँग सम्बन्ध बनाउनका लागि मात्रै भारत गएको टिप्पणी गरेका छन् ।