बिर्तामोड / राजसंस्था र हिन्दु राष्ट्र पक्षधर भएको आरोप खेप्दै आएका एमाले अध्यक्ष केपी शर्मा ओली आसन्न स्थानीय तहको निर्वाचन नजिकिए सँगै राजसंस्था र हिन्दु राष्ट्र पक्षधर पार्टी राप्रपाको शरणमा पुगेका छन् ।

यसअघिको आम निर्वाचनको समयमा पनि ओली गणतन्त्र , संघीयता र धर्म निरपेक्षताको विरोधमा राजनिती गरिरहेको शक्ति राप्रपाको शरणमा पुगेर प्रतिनिधिसभा निर्वाचनमा विजयी हुँदै प्रधानमन्त्री सम्म बनेका थिए ।

तत्कालीन समयमा दुई ठूला पार्टी एमाले र माओवादीको चुनावी एकताको समयमा समेत पराजयको त्रासले राप्रपाको शरणमा पुगेका उनी स्थानीय चुनावमा सत्तारुढ दलबीच एकता हुने निश्चित भएसँगै एक्लै निर्वाचन लड्ने अभिव्यक्ति दिइरहेका उनले राप्रपा नेतासँग भेट गरी चुनावी एकताका लागि छलफल थालेका हुन् ।  

केही महिना अघि आफू उपस्थित कार्यक्रममा नै आफू सहितका नेतालाई चोर भनेर लान्छना लगाउने परिवर्तन विरोधी शक्तिका नेतासँग रुपमा चिनिएका आफ्नै गृहजिल्लाका नेता एवम् राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग भेट नगरी ओलीले दोस्रो बरियताका नेता महामन्त्री धवल शमशेर राणासँग भेटेर चुनावी एकताको छलफल थालेका हुन् ।

पश्चिम नेपालको भ्रमणमा रहेका ओलीले राणालाई आफू बसेको होटेल स्नेहामा नै बोलाएर बिहीबार राती चुनावी एकताको विषयमा छलफल गरेको सार्वजनिक भएको छ । एमाले र ओलीको सचिवालयले भेट र चुनावी एकताका विषयमा भएको छलफल गोप्य राखेपनि राप्रपाले भने भेट र छलफल भएको कुरालाई पुष्टि गरिदिएको छ ।

राप्रपाका प्रवक्ता समेत रहेका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले एमाले अध्यक्ष ओलीसँग चुनावी एकताका विषयमा छलफल भएको बताएका छन् । उनले एमालेसँग सुरु भएको छलफललाई निरन्तरता दिने समझदारी भएको समेत बताएका छन् ।

विगतमा पनि निर्वाचनमा आफ्नो विजय सुनिश्चित गर्न राजावादी र व्यवस्था विरोधी शक्तिसँग एकता गरेका ओलीले यसपटक पार्टी विभाजन र आफ्नै जिल्लामा थप कमजोर बनेकाले राप्रपासँग चुनावी एकताका लागि छलफल सुरु गरेको राजनीतिक वृत्तमा मानिएको छ ।

आफू प्रधानमन्त्री रहेको समयमा पशुपति दर्शन , पशुपतिनाथको मन्दिरमा जलहरी राख्ने र चितवनको माडीलाई अयोध्या बनाउने लगायतका धार्मिक क्रियाकलापलाई प्राथमिकतामा राखेर ओलीलाई विपक्षीले राजसंस्था पक्षधरसँग उनले साँठगाँठ गरेर व्यवस्था नै सिध्याउने कोसिस गरेको आरोप लगाउने गरेका छन् ।

केही दिन अघि पनि आफ्ना पूर्व सहकर्मी एवम एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले ओली र उनी निकटले राजावादीसँग राती राती भेट्ने गरेको र व्यवस्था नै उल्टाउने कोशीस गरिरहेको आरोप लगाएका थिए ।