झापा / सर्लाहीको बागमती नगरपालिका -७ राजघाटमा क्रेनको ठक्करबाट १७ वर्षकी छात्राको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय नव जन जागरण माविकी छात्रा सुमित्रा परियार रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
बालिकाको क्रेनले ठक्कर दिएपछि घटनास्थलमा मृत्यु भएको थियो , बालिकाको मृत्यु पश्चात स्थानीय आक्रोशित भएर क्रेनमा आगो लगाएका छन् । नम्बर उल्लेख नभएको क्रेनले ठक्कर दिएपछि ढलेकी बालिकालाई क्रेनका चालकले पुनः अर्को पटक ठक्कर दिएपछि उनको मृत्यु भएको स्थानीयको आरोप छ ।
विद्यालयका विद्यार्थी र स्थानीयहरुले नारा जुलुससहित विरोध प्रदर्शन गरिरहेका छन् । उनीहरूले मृतकको शव समेत घटनास्थलबाट उठाउन दिएका छैनन् । क्रेनमा रहेका चालकसहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय बरहथवाले जानकारी दिएको छ ।