बिर्तामोड / आसन्न स्थानीय निकाय निर्वाचनमा चुनावी एकताको विषयमा छलफलमा रहेका सत्तारुढ दलले एकताको मोडालिटी तय गरेका छन् ।

बिहीबार सत्तारुढ दलको प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले महानगरपालिकाको हकमा पार्टीको केन्द्रिय तहबाट र अन्य पालीकाको हकमा स्थानीय तह , जिल्ला र प्रदेशबाटै निर्णय गराएर साझा उम्मेद्वारी तय गर्ने निर्णय गरेका हुन् ।

बैठकमा सहभागि नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले महानगर पालिकाको हकमा तालमेल र उम्मेदवारको टुंगो केन्द्रले गरेर अन्य पालिकाको हकमा तल्ला कमिटीलाई निर्णय गर्ने अधिकार दिने समझदारी भएको बताएका छन् ।

बैठकले आगामी बैशाख ३० गते हुने स्थानीय निकायको निर्वाचनमा चुनावी एकता गर्ने सत्तारुढ दलबीच समझदारी भइसकेकाले एकताको अधिकारका विषयमा आजको बैठकले निर्णय गरेको नेता खनालले जानकारी गराएका छन् ।

निर्वाचनमा सत्तारुढ दललाई स्थानीय तहमा विजय गराउनका लागि सत्तारुढ दलबीच चुनावी समझदारीका लागि दलीय संयन्त्र समेत बनाउने समझदारी भएकाले सो सहित बाँकी रहेका अन्य विषयमा आगामी बैठकबाट निर्णय हुने खनालले जानकारी गराएका छन् ।