बिर्तामोड / नेपाल आयल निगमले कमिसन कटौती गरेको विरोधमा ग्यास आयात सम्म रोकेर आन्दोलन गरिरहेका ग्यास उद्योगले आज बिहीबारबाट बिक्रेताहरुलाई ग्यास बिक्री वितरण समेत बन्द गरेका छन् ।
राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिको आह्वानमा पूर्वघोषित आन्दोलनका कार्यक्रम अनुसार बिहीबारबाट एलपी ग्याँस उद्योगीहरुले बिक्रेतालाई बिक्री वितरण बन्द गरेका हुन् ।
कमिसन कटौतीको विरोधमा नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसन, नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ र नेपाल एलपी ग्यास उद्योग संघले संयुक्त रुपमा आन्दोलन गर्दै आएका छन् ।
कमिसन कटौतीको निर्णय नसच्याए चैत २० गतेदेखि देशभर ग्यास र पेट्रोलियम पदार्थको बिक्री बन्द गर्ने चेतावनी उनीहरूले दिएका छन् ।
निगमले पेट्रोलियम बिक्रेतालाई प्रतिशतको आधारमा दिंदै आएको कमिसन २०७८ फागुन १९ गतेबाट बन्द गरेको थियो । उक्त कमिसन पाउनुपर्ने र २०७७ मंसिर १८ गतेबाट स्थगन गरिएको प्राविधिक नोक्सानीका सम्बन्धमा गुणस्तर तथा नापतौल विभागका महानिर्देशक नेतृत्वको अध्ययन समितिको प्रतिवेदनअनुसार लागु गर्नुपर्ने मुख्य माग राखेर उनीहरूले चैत ५ गते बाट आन्दोलन थालेका थिए ।