काठमाडौं / आसन्न स्थानीय निर्वाचनका लागि उम्मेद्वारी घोषणा सुरु नहुँदै देशकै केन्द्रका रुपमा रहेको काठमाडौं महानगरपालिका निर्वाचनको विषयले तातेको छ । सामाजिक रुपमा चर्चामा रहेका पात्रहरू महानगरको मेयर बन्न अग्रसर बनेपछि महानगरमा चुनावी सरगर्मी बढेको छ ।

ठूला राजनैतिक दलका उम्मेदवार को हुने भनेर निश्चित नै नरहेको समयमा समाजिक हिसाबमा चर्चित र स्थापित नयाँ अनुहार महानगरको नेतृत्वका लागि अग्रसर बनेपछि काठमाण्डौको माहोल समेत तातेको छ ।

OM Sai Pathibhara Hospital

महानगरको नेतृत्व गर्न यसअघि नै इन्जिनियर समेत रहेका चर्चित र्यापर बालेन शाह र नेवार समुदायमा सुन्दरी भनेर चिनिएकी सन २०११ की मिस नेवा  सुनिता डङ्गोलले पनि यसअघि नै उम्मेद्वारी घोषणा गरेर चुनावी अभियान थालिसकेका छन् ।

चुनाव नजिकिएसँगै देशमै चर्चित पूर्व प्रहरी अधिकारी रमेश खरेल पनि महानगरको मेयर बन्ने दौडमा अघि बढेका छन् । उनले मेयर भएर काठमाण्डौको फोहोर सफा गरेर देखाउने भन्दै निर्वाचनका लागि तयारी थालेको बताईएको छ ।

केही महिना अघि नेपाल सुशासन अभियान नामको पार्टी नै स्थापना गरेर भ्रष्टाचार र बेथिति विरोधी अभियान चलाउँदै आएका उनले काठमाण्डौमा मेयरमा उम्मेद्वारी दिने विषयमा आफूले छलफल थालेको बताएसँगै काठमाण्डौमा चुनावी सरगर्मी बढेको छ ।

आफू मेयरको उमेद्धार बनेको अवस्थामा आफूलाई काठमाण्डु बासीले विजयका लागि सहयोग गर्नेमा आशावादी रहेकैले निर्वाचनका लागि तयारी थालेको खरेलले बताएका छन् ।