काँकडभिट्टा  / भारतको पश्चिम बङ्गालको सिलिगुडीका एक व्यवसायी राजश्व अनुसन्धान विभागको फन्दामा परेका छन् । राजस्व अनुसन्धान विभागले करछलीमा संलग्न भएको भन्दै ७ करोड ६० लाख ६५ हजार ७०४ रुपैयाँ बिगो दाबी सहित उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।

सिलिगुडीका स्थायी बासिन्दा समेत रहेका ३२ वर्षीय भारतीय नागरिक अमितकुमार अग्रवालले काठमाण्डौमा बसेर कारोबार गर्ने क्रममा करछली गरेको भन्दै विभागले अदालतमा मुद्दा दायर गरेको हो ।

OM Sai Pathibhara Hospital

काठमाण्डौमा रहेको अग्रवालको फर्मले राजस्व चुहावट गर्ने मनसायले बिजक जारी नगरी अर्डर र इस्टमेट लुज बिल जारी गरी कारोबार गरेर करछली गरेको अनुसन्धानका क्रममा खुलेको विभागले जनाएको छ ।

अग्रवालले आफ्नो फर्मबाट हुने आयलाई व्यवसायको आधिकारिक बिक्री आयमा समावेश नगरी नगद घरमै राख्ने गरेको तथा आयकर ऐन तथा मूल्य अभिवृद्धि कर ऐन तथा नियम अनुसार तिर्नुपर्ने राजस्व समेत नतिरेको दायर मुद्दामा दावी गरेको छ ।

विभागले दायर मुद्दामा मूल्य अभिवृद्धि कर ३ करोड १७ हजार ९९ रुपैयाँ, आयकर ८ लाख १४ हजार ७५३ रुपैयाँ समेत जम्मा गरी कुल बिगो ३ करोड ८० लाख ३१ हजार ८५२ रुपैयाँ तथा शतप्रतिशत जरिवाना गरी ७ करोड ६० लाख ६३ हजार ७०३ रुपैयाँ असुल उपर गर्न माग गरेको छ ।