बिर्तामोड / खाना पकाउने एलपी ग्यासको मूल्य समायोजनको माग राखी उद्योगीले भारतबाट आयात गर्न छाडेपछि बजारमा ग्यास अभाव सुरु भएको छ ।

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिका कारण ढुवानीमा समस्या आएको भन्दै मूल्य समायोजनको माग राखी विगत ११ दिन अघिबाट उद्योगीले ग्यास आयात गर्न छाडेका थिए ।

OM Sai Pathibhara Hospital

ग्यासको आयात रोकेर उद्योगी आन्दोलनमा उत्रिएपछि बजारमा खाना पकाउने ग्यासको अभाव सुरु भएको हो । डिजेलको मूल्य बढ्दा भाडादर बढेको भन्दै उद्योगीले ग्यासको मूल्य समायोजनको माग राखी गत फागुन १९ गतेदेखि आन्दोलन थालेका थिए ।

ग्यास उद्योगहरूको छाता संगठन नेपाल एलपी ग्यास उद्योग संघले उद्योगी– व्यवसायीको मागलाई सरकारले वेवास्ता गरेकाले घाटामा काम गर्न नसक्ने भएकाले आपूर्ति बन्द गरिएको जनाएको छ ।

संघका ग्यास आयात गर्दा भारत र नेपाल दुवै देशमा ढुवानी खर्च बढेकाले आयात गर्नै नसक्ने अवस्था आएपछि ११ दिन अघिबाट अर्डर लिन बन्द गरिएको जानकारी गराएको छ ।  

भारत स्थित रिफाइनरीबाट ६ दिनअघिदेखि ग्यास लोड गर्ने काम बन्द भएको र ३ दिन अघिबाट नेपाल नपसेका ग्यास बोकेका ढुवानीका साधन लाई सीमापारि नै रोकिएको संघले जानकारी समेत गराएको छ ।

नेपाल आयल निगमले नेपालमा अहिले ग्यासको मूल्य प्रति सिलिन्डर १ हजार ५ सय ७५ रुपैयाँ कायम गरेको छ । मूल्यवृद्धिका कारण ढुवानीमा नै असर परेकाले ग्यासको मूल्य बढाएर भएपनि पछिल्लो समयमा देखिएको समस्या समाधान गर्न संघले सरकार समक्ष माग गरेको छ ।

ग्यास व्यवसायीको आन्दोलनका कारण अहिले बजारमा एलपी ग्यासको अभाव सुरु भएको छ । ग्यास  बिक्रेताले आयात रोकिए पछि एलपी ग्यास किन्न जाने ग्राहकलाई रित्तै फर्काउन सुरु गरेका छन् ।

नेपालमा दैनिक एक लाख सिलिन्डर ग्यास खपत हुने गरेको सरकारी तथ्याङ्क रहेको छ । आपूर्ति बन्द हुँदा पुरानो स्टकले अब केही दिन मात्रै धान्ने एलपी ग्यास बिक्रेता महासङ्घले जनाएको छ ।

महासङ्घका अध्यक्ष ज्ञानेश्वर अर्यालले ग्यास आपूर्ति नहुँदा एक सिलिन्डर मात्रै ग्यास हुने ग्राहकलाई ठूलो समस्या पर्ने बताएका छन् । उनले व्यवसायीले बाध्य भएर आन्दोलन गर्दा पनि सरकारले नसुनेमा एक साता पछि बजारमा ग्यासको हाहाकार हुने बताएका छन् ।