इटहरी / देशकै ठूलो औँद्योगिक घराना चौधरी ग्रुपले आफ्नो परिवारबाट सुनसरीको दुहबीमा सञ्चालनमा रहेको देशकै पुरानो बिस्कुट उद्योग घाटामा गएको भन्दै सूचना नै जारी गरेर बन्द गरेको छ ।
दुहबीमा रहेको पशुपति बिस्कुट इन्डस्ट्रिज प्रालि घाटामा गएको भन्दै चौधरी ग्रुपले सूचना नै जारी गरी उद्योग सञ्चालन बन्द गरिएको जनाएको हो ।
चौधरी ग्रुपका संस्थापक लुनकरण दास चौधरीले बिक्रम सम्वत् २०३० सालमा स्थापना गरेको देशकै ठूलो अनि पुरानो बिस्कुट उद्योग घाटामा गएकाले बन्द गर्नु परेको उद्योग प्रशासनले जनाएको छ ।
संसारकै खर्बपति व्यापारीको सुचीमा रहेका उद्योगी विनोद चौधरीका भाइ बसन्त चौधरीले हेर्दै आएको उद्योग सूचना नै जारी गरेर १५ दिनका लागि बन्द गरिएको हो । उद्योग प्रशासनद्वारा जारी सूचनामा घाटा भएकाले आज बुधबारदेखि १५ दिनका लागि उत्पादन बन्द गरिएको उल्लेख छ ।
विगत केही वर्षयता उद्योगका उत्पादनले बजार गुमाउँदै जाँदा उद्योग घाटामा सञ्चालन हुँदै आएको थियो । विगतमा २४ घण्टा सम्म सञ्चालन हुने गरेको उद्योग कोरोना महामारीसँगै ८ घण्टा मात्रै सञ्चालन हुने गरेको थियो ।
उद्योग प्रशासनका तर्फबाट भरतकुमार सिलवालले जारी गरेको सूचनामा उद्योगमा तयारी मालसामानको मौज्दात बढेको र बजारबाट माग अनि बक्यौता बढेकाले बन्द गर्नु परेको उल्लेख छ ।
उपयोगद्वारा जारी सूचनामा श्रम ऐन २०७४ को दफा १५ बमोजिम चैत १६ देखि लागू हुनेगरि १५ दिनका लागि उद्योग सञ्चालनमा नरहने जनाईएको छ ।
उद्योग प्रशासनका कर्मचारी सिलवालले श्रम तथा रोजगार कार्यालयको स्वीकृति लिएर नियमअनुसार नै उत्पादन बन्द गरिएको बताएका छन् ।
उनले उद्योग बन्द रहेको समयमा बाँकी उठाउने र स्टक भएको उत्पादन सबै बिक्री गर्ने योजना रहेको बताएका छन् । बक्यौता नउठे र मौज्दात सामान बिक्री नहुन्जेल उद्योग सञ्चालन गर्न नसकिने उनले बताए ।