दमक / आफ्नो निर्वाचन क्षेत्रमा विकास देखाउने नाममा खेतीयोग्य जमिन नै मासेर अर्बौँ लगानीमा भ्यु टावर बनाउन थालेको भनेर आलोचना खेपीरहेका एमाले अध्यक्ष केपी शर्मा ओलीको अग्रसरतामा निर्वाचनको पूर्वसन्ध्यामा दमकमा करोडौँ रुपैयाँको लगानीमा सपिङ कम्प्लेक्स बनाउने योजना अघि बढेको छ ।

नगरक्षेत्रमा वर्षौ देखि बसेका सुकुमबासीको घर भत्काएर अघि बढाएको सपिङ कम्प्लेक्सका लागि ६१ करोड खर्च गर्ने गरी एमाले अध्यक्ष ओलीका विश्वास पात्र भनेर चिनिएका दमक नगरपालिकाका मेयर रोमनाथ ओलीले योजना अघि बढाउँदै प्रचार सुरु गरेका छन् ।

OM Sai Pathibhara Hospital

आफ्नो ५ वर्षे कार्यकाल भरी जनताको पक्षमा काम नगरेको भनेर आलोचित बनेका ओलीको निर्वाचन लक्षित सपिङ कम्प्लेक्स योजना सार्वजनिक भए लगत्तै जनस्तरबाट आलोचना सुरु भएको छ ।

दमकमा नै खेतीयोग्य जमिन नै बिनास गरेर सवा दुई अर्ब लागतमा बनिरहेको भ्यु टावरलाई अस्पतालका रुपमा विकास गर्न माग भइरहेको समयमा निर्वाचन लक्षित दोस्रो आयोजना समेत विवादमा तानिएको छ ।

वर्षौ देखि भोगचलन गर्दै आएको जमिन र आफ्नो बासस्थान गुमाएका सुकुमबासीले एमाले अध्यक्ष केपी ओली र मेयर रोमनाथ ओलीले निर्वाचनको समयमा जनतामा भ्रम छर्न सपिङ कम्प्लेक्स आयोजना अघि बढाएको बताएका छन् ।  

नगरक्षेत्रमा सुकुमबासी बस्ती हटाएर खाली गरिएको जमिनमा बन्न लागेको कम्प्लेक्सका लागि  नगरपालिका अन्तर्गतको नगर विकास कोषको ७० प्रतिशत र नगरपालिकाको ३० प्रतिशत लगानी रहने दमक नगरपालिकाले जनाएको छ । दमक सपिङ कम्प्लेक्स नाम राखिएको यो परियोजनामा कुल ६१ करोड १४ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

दमक नगरपालिकाको करिब ८ कट्ठा १३ धुर क्षेत्रफलमा निर्माण हुने भनिएको सपिङ कम्प्लेक्सलाई नगरपालिकाले महत्वपूर्ण आयोजना भन्दै निर्वाचनको माहोल सुरु भएपछि प्रचार गरिरहेको छ  ।

नगर विकास कोषले यो परियोजना अहिलेसम्मको शहरी विकास पूर्वाधारमा लगानी गरेको सबैभन्दा ठूलो र धेरै लगानीको परियोजना भएको जनाएको छ ।

दमक नगरपालिका प्रमुख रोमनाथ ओलीले सपिङ कम्प्लेक्स आयोजनाको विस्तृत प्राविधिक अध्ययन भइसकेको र परियोजना अघि बढाउन स्रोत व्यवस्थापन भएको भन्दै  समयमै  सम्पन्न गर्ने गरी अघि बढाइएको बताएका छन् ।