तेह्रथुम / स्थानीय चुनाव नजिकिँदै जाँदा प्रदेश १ का जिल्लामा भने स्थानीय स्तरबाटै चुनावी गठबन्धन सुरु भएको छ । पार्टीका केन्द्रबाट चुनावी गठबन्धनका विषयमा ठोस निर्णय हुन नसकिरहेका बेला स्थानीय स्तरमा भने गठबन्धनको घोषणा हुन थालेका छन् ।

प्रदेश १ का १४ जिल्ला मध्ये दुई जिल्लामा सत्तारुढ दलबीच चुनावमा साझा  उम्मेदवार तय गरी जाने सैद्धान्तिक समझदारी भएको छ । धनकुटा र तेह्रथुममा सत्तारुढ दलबीच चुनावी एकता गर्ने सैद्धान्तिक समझदारी भएको भएपनि प्रदेश १ कै अर्को पहाडी जिल्ला ओखलढुङ्गामा भने एमाले र माओवादी केन्द्रबीच चुनावी एकता गर्ने सैद्धान्तिक सहमति भएको छ ।

OM Sai Pathibhara Hospital

तीनवटै जिल्लामा बनेका चुनावी गठबन्धनमा रहेका दलहरूले पार्टी केन्द्र र प्रदेशले गर्ने निर्णय नमान्ने समेत जनाएका छन् । जिल्ला स्तरमा भएको चुनावी गठबन्धनलाई सहयोग गर्न भन्दै दलहरूले मिल्न बाकी प्राविधक विषय मिलाएर साझा उम्मेदवार घोषणा गर्ने जनाएका छन् ।

धनकुटा र तेह्रथुममा एमाले – राप्रपा विरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र मञ्चसम्बद्ध लिम्बुवान पार्टी नेपालले तालमेल गर्ने निर्णय गरेका छन् । लिम्बुवान पार्टी धनकुटामा भने गठबन्धनमा सामेल छैन ।

चनाबी गठबन्धनका लागि पार्टी प्रदेश र केन्द्रिय कमिटीको निर्णय नकुरी जिल्ला स्तरमा नै भएको समझदारी अनुसार उनीहरु निर्वाचनको तयारीमा जुटेका छन् ।

तेह्रथुममा दुई नगरपालिका र चार गाउँपालिकासहित ६ वटा स्थानीय तह छन् । त्यसमध्ये लालीगुराँस नगरपालिकामा २०७४ को निर्वाचन कांग्रेसले जितेको थियो । म्याङलुङ नगरपालिकासहित आठराइ गाउँपालिका, छथर, फेदापमेन्छ्यायेम गाउँपालिका एमालेले जितेको थियो । यी सबै स्थानीय तहमा तालमेल गर्ने निर्णय भएको दलहरूले मंगलबार जनाएका छन् ।

तेह्रथुममा तालमेल गर्ने निर्णयमा काँग्रेस जिल्ला सभापति तुम्बाहाम्फे सहित माओवादी केन्द्रका संयोजक इन्द्रबहादु्र इम्सङ, एकीकृत समाजवादीका अध्यक्ष कृष्ण चोङबाङ, जसपाका अध्यक्ष भगवान रिजाल र लिम्बुवानका विजय निलेकुले संयुक्त हस्ताक्षर गरेका छन् । स्थानीय आवश्यकता बुझेर यस्तो निर्णय भएका कारण पार्टीको माथिल्लो कमिटीहरूले यसमा हस्तक्षेप नगर्ने दलहरूले जनाएका छन् ।