बिर्तामोड / काठमाण्डौको छाउनी स्थित नेपाली सेनाको वीरेन्द्र अस्पतालमा नेपाली सैनिक सँगै अमेरिकी सेना देखिएको तस्विर सामाजिक सञ्जालमा भाइरल बनेको छ । एमसीसी अनुमोदनसँगै नेपालमा अमेरिकी सेना आएको ढंगले सामाजिक सञ्जाल प्रयोगकर्ताले तस्विर सेयर गरिरहेका छन् ।
सामाजिक सञ्जालमा भाइरल भइरहेको अमेरिकी सेनाको तस्वीरको वास्तविकता भने भिन्न रहेको पाइएको छ । अमेरिकी दुतावासले नेपाली सेना र अमेरिकी सेनाको संयुक्त अभ्यासका तस्विर भएको उल्लेख गरेको छ ।
प्राकृतिक तथा अन्य प्रकारका विपत्तिमा गरिने हवाइ चिकित्सा उद्धारका विषयमा अनुभव आदान प्रदानको बेलाका ती तस्विर भएको दुतावासले जनाएको छ ।
मेडिकल इभालुएसन इन्फरमेसन एक्सचेन्ज नाम दिइएको कार्यक्रम समापनका क्रममा नेपाली तथा अमेरिकी दुवै सेनाका टोलीले छाउनीस्थित सैनिक ब्यारेकमा हेलिकप्टरद्वारा गरिने चिकित्सकीय उद्धार लगायत सो सम्बन्धी विविध प्रदर्शनका तस्विर भएको दुतावासले स्पष्ट पारेको छ ।