बिर्तामोड / अमेरिकाले नेपालमा नयाँ राजदूत सुरक्षा मामिला विज्ञ पठाउने भएको छ । एमसीसी कार्यान्वयनको चरणमा प्रवेश गरेपछि ईण्डो प्यासिफिक रणनीतिको अंग भन्दै नेपालमा विरोध जारी रहेकै समयमा अमेरिकाले सुरक्षा मामिला विज्ञ डिन थम्पसनलाई पठाउने निर्णय गरेको हो ।

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले सुरक्षा विज्ञ डिन थम्पसनलाई नेपालको लागि नयाँ राजदूतमा नियुक्त गरिएको जानकारी गराएको छ ।

OM Sai Pathibhara Hospital

नेपालमा रहेका अमेरिकी राजदूत र्‍याण्डी बेरीको कार्यकाल सकिने भएकाले उनको स्थानमा थम्पसनलाई पठाउने निर्णय भएको राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले जनाएको छ ।

नेपालको नयाँ राजदूतमा नियुक्त भएका थम्पसन अहिले अमेरिकाका लागि दक्षिण र मध्य एसियाली मामिला ब्युरोका उपसहायक सचिव हुन् । थम्पसनसँग कूटनीतिक क्षेत्रमा २५ वर्षभन्दा बढी समय काम गरेको अनुभव रहेको छ ।  

मलेसिया स्थित अमेरिकी दूतावासमा डेपुटी चिफ अफ मिसन, रोमानियाको अमेरिकी दूतावास, भारतको कोलकातामा कन्सुलर जनरल र श्रीलङ्कामा आर्थिक तथा वाणिज्य मामिला विभाग प्रमुखको रुपमा काम उनले काम गरिसकेका छन् ।

नेपालमा चीनसँग टकरावको स्थिति बढिरहेको बेला अमेरिकाले सुरक्षा मामिलामा दख्खल राख्ने वरिष्ठ कूटनीतिज्ञलाई काठमाडौं पठाउने निर्णय गरेको हो ।