बिर्तामोड / सोमबार रोल्पामा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले शंग्रालय सहितको भ्युटावर उद्घाटन गरेको विषयमा जनस्तर र एमाले वृत्तबाट आलोचना भईरहेका बेला एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलवार अर्को भ्युटावरको उद्घाटन गरेको दृष्य सार्वजनिक भएको छ ।

प्रचण्डले सोमवार उद्घाटन गरेको भ्युटावरलाई लिएर सामाजिक सञ्जालमा एमालेका नेता तथा कार्यकर्ताले अनेकौं आरोप लगाइरहँदा आफ्नै पार्टीका अध्यक्षले भ्युटावर उद्घाटन गरेको दृष्य सार्वजनिक भएको हो ।

ओलीले मंगलबार रूपन्देहीको तिलोत्तमा नगरपालिकामा निर्माण भएको भ्युटावरको उद्घाटन गरेका छन् । उनले उद्घाटन सँगै भ्युटावरसँगै रहेको  व्यावसायिक बहुउद्देश्यीय भवनको समेत अवलोकन गरेका छन् । भ्युटावरमा राखिएको दूरबीनबाट ओलीले निकै टाढाको दृश्यावलोकन समेत गरेका थिए ।

प्रचण्डले भ्युटावर उद्घाटन गरे लगत्तै यो विषयमा प्रचण्डको आलोचना सुरु भएको छ । तर सरकारी तथ्याङ्कले भने सबैभन्दा वढी एमालेबाट जनप्रतिनिधि भएकाहरूले नै भ्युटावर बनाउने काममा अगाडि रहेको अनि एमाले नेतृत्वकै सरकारहरूले बढि बजेट विनियोजन गरेको देखाउदछ

विश्वका नागरिकले रुचाउने अनि मनपराउने हिम शृंखला र पहाड भएको देशमा भ्युटावरका नाममा अर्बौ रुपैयाँ लगानी गरिएको सार्वजनिक भए लगत्तै जनस्तरबाट यो नेताहरूको आलोचना सुरु भएको छ । दुई दिन यता सामाजिक सञ्जाल समेत भ्युटावरको विषयले भरिएको छ ।

यो विषय नागरिकको मुद्धा बनेसँगै संचारमाध्यले समेत यो विषयलाई मुख्य मुद्धा नै बनाएका छन् । सञ्चारमाध्यमबाट सार्वजनिक भएको तथ्याङ्कले पनि मुलुकभर भ्युटावर निर्माणका लागि सरकारको १० अर्ब लगानी र सार्वजनिक तथा निजी साझेदारीमा हालसम्म ७ अर्ब रुपैयाँ लगानी भएको खुलेको छ ।

चालु आर्थिक वर्षमा तिन तहकै सरकारले भ्युटावरका लागि १७ अर्ब विनियोजन गरेका छन् । संघ ,प्रदेश र स्थानीय सरकारले ११७ वटा भ्युटावरका लागि १७ अर्ब विनियोजन भएको सरकारी अभिलेखमा उल्लेख छ । भ्युटावरका लागि बजेट विनियोजन भएका करिव ८५ प्रतिशत पालिकाको नेतृत्वमा एमालेकै नेता रहेका छन् ।

एमालेकै अध्यक्ष केपी शर्मा ओलीको भ्युटावर मोहका कारण एमालेका सरकार रहेका पालिका र प्रदेशले भ्युटावरमा लगानी गरेको तथ्याङ्ले संकेत गरेको छ । ओलीले आफ्नो गृहनगरको खेतीयोग्य जमिन रहेको ग्रामीण क्षेत्र ढुकुरपानिमा अढाई अर्ब लगानीमा भ्युटावर निर्माणका लागि बजेट विनियोजन गरेपछि देशभर नै भ्युटावरको लहर चलेको मान्ने गरिएको छ ।

भ्युटावर निर्माणमा सरकारी रकम दुरुपयोग गर्नेमा प्रदेश एक अगाडि देखिएको छ । प्रदेश १ मा एमाले नेता शेरधन राई र भीम आचार्य नेतृत्वको सरकारका पालमा भ्युटावरका लागि ४३ भ्युटावरका लागि ३ अर्ब १३ करोड बजेट विनियोजन भएको थियो ।

प्रदेश एकमा भ्युटावरका लागि धनकुटामा सबैभन्दा वढी लगानी भएको छ । धनकुटामा ११ वटा भ्युटावर मध्ये केही बनिसकेका छन् भने केही सम्पन्न हुने चरणमा रहेका छन् ।  

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले ओलीलाई उछिन्दै ४ अर्ब लागानीमा भ्युटावर बनाउने घोषणा गरी शिलान्यास नै गरेको थियो । तर विराटनगर स्थित विमानस्थल र नागरिक उड्यन प्राधिकरणको असहमतिका कारण सो योजना भने अघि वढ्न सकेको छैन ।

रोल्पामा प्रचण्डले भ्युटावर उद्घाटन गरेको विषयलाई एमालेका नेता तथा कार्यकर्ताले आलोचनाको विषय बनाएपछि सार्वजनिक भएको देशभरीको तथ्याङ्कले भने उल्टै एमालेलाई नै समस्यामा पारिदिएको छ ।

सोमबार दिनभर र मंगलबार मध्यान्न सम्म पनि शिक्षा , स्वास्थ्य र विकासमा खर्च नगरेर जनताको करको दुरुपयोग गरेको भनेर आलोचना अनि प्रचारबाजीमा उत्रिएका एमालेका नेता तथा कार्यकर्ताले भने देशभरको सार्वजनिक भएको तथ्याङ्कका विषयमा भने मौनता साँधेका छन् ।