खाँदबारी / मुआब्जा नदिएको भन्दै स्थानीयवासी आन्दोलित बनेपछि सङ्खुवासभामा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको काम अवरुद्ध बनेको छ ।
आयोजनाको मुख्य प्रवेशद्धार मानिएको छयाङकुटी–पुखुवा सडकखण्ड पीडितले मुआब्जा नपाएको भन्दै एकसाता अघिबाट थालेको आन्दोलनका कारण आयोजनाको निर्माण कार्य अवरुद्ध बनेको हो । आन्दोलित स्थानीयले आयोजना सम्म पुग्ने सडक नै बन्द गरेकाले आयोजना प्रभावित बनेको आयोजनाका एक अधिकारीले जानकारी गराएका छन् ।
मुआब्जाका लागि पटक पटक आग्रह गर्दा पनि आयोजनाले मुआब्जा दिन आनाकानी गरेकाले अरुण तेस्रो आयोजना र प्रवेशमार्ग नै अवरुद्ध पारेर आन्दोलन थालिएको सङ्घर्ष समितिका अध्यक्ष हर्कसिंह राईले जानकारी गराएका छन् ।
प्रवेशमार्ग छयाङकुटी–पुखुवा सडकखण्डको मुआब्जा तीन वर्ष बित्दासमेत नपाएपछि बाध्य भएर प्रवेशमार्ग र आयोजनाको पावरहाउसको काम अवरुद्ध बनाएको उनले बताएका छन् । आयोजनाले १५ मिटर जग्गाको मुआब्जा दिएर ३० मिटर जग्गा अधिग्रहण गरेकाले आफूहरु आन्दोलनमा उत्रिएको अध्यक्ष राईले जानकारी गराएका छन् ।
अरुण तेस्रो परियोजनाको करिब ५० प्रतिशत भन्दा वढी काम सकिदाँ समेत मुआब्जा नपाएपछि स्थानीयवासी गत चैत ८ गतेबाट प्रवेशमार्ग र पावरहाउसको काम अवरुद्ध पारेर आन्दोलनमा उत्रिएका हुन् । छयाङकुटी–पुखुवा सडकखण्ड २८.५ किमी रहेको छ ।
कूल रु एक खर्ब ४४ अर्ब लागत निर्माण भइरहेको आयोजनाबाट सन् २०२४ मा विद्युत उत्पादन सुरु गर्ने लक्ष्य रहेको छ । अरुण तेस्रो जलविद्युतको निर्माणको काम भारतीय सतलज जलविद्युत् निगम (एसजेभिएन)ले गरिरहेको छ ।