बिर्तामोड / प्रहरी प्रधान कार्यलयले सोमबार गरेको प्रहरी नायब उपरीक्षक (डिएसपी)को सरुवा सुचीमा झापाको बिर्तामोड, काँकडभिट्टा र दमक स्थित इलाका प्रहरी कार्यालयका इन्चार्ज फेरिएका छन्  ।

स्थानीय तहको निर्वाचनको मुखमा प्रधान कार्यालयले लामो समय देखि नियमित सरुवा हुन नसकेको भन्दै  ३६ जना डिएसपीको सरुवा गरेको हो ।

इलाका प्रहरी कार्यालय अनामनी (बिर्तामोड)का डीएसपी सन्तोष आचार्यको जिल्ला प्रहरी कार्यालय उदयपुरमा सरुवा भएको छ भने उनको स्थानमा केन्द्रीय अनुसन्धान ब्युरो मानव श्रोत व्यवस्थापन शाखाबाट रुगमबहादुर कुँवरलाई पठाइएको छ ।

इलाका प्रहरी कार्यालय दमकका डीएसपी नवराज कार्कीको प्रहरी प्रधान कार्यालय अपराध अन्वेषण विद्यालय तथा विकास शाखा काठमाण्डौ सरुवा भएको छ भने उनको स्थानमा जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीबाट दिलिपकुमार गिरी पठाइएको छ ।

पूर्वी नेपाल र बङ्गलादेशसँगको व्यापारका लागि देशकै प्रमुख नाकाको रुपमा रहेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी सुनिल दाहालको १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरमा सरुवा भएको छ भने उनको ठाउँमा  प्रदेश २ प्रहरी कार्यालय जनकपुरबाट ज्ञानकुमार महतो आउने भएका छन् ।