इटहरी / प्रदेश एकमा विगत एक महिना देखि हिमाल सुरक्षा परिषदको नामको संगठन बनाएर हिंसात्मक गतिविधि गर्दै आएको समूहका दुई सदस्य आफैँले बोकेको बम पड्कँदा घाईते भएका छन् ।

सोमबार बेलुका इटहरी उपमहानगरपालिका २ को नव जागृति टोलमा आफ्नो साथमा बोकेको बम पड्कँदा दुई व्यक्ति घाईते भएका हुन् । घाईते हुनेमा सो टोलमा डेरा गरी बस्ने २२ वर्षीय रबिन थापा र लमजुङको ढोडेनी ५ का २३ वर्षीय शेरजंग गुरुङ रहेका छन् ।

घाईते थापाको आँखामा गम्भिर चोट लागेकाले उनको विराटनगर स्थित आखाँ अस्पतालमा र गुरुङको धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

राती करिव साँढे १० बजे उनीहरूको झोलमा रहेको बम विस्फोट हुदा उनीहरु घाईते भएको घटनाको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले जानकारी गराएका छन् । उनीहरु आफैँले बोकेको झोलामा रहेको दुईवटा सुतली बम विस्फोट हुँदा सो घटना भएको प्रहरीले बताएको छ ।

घटना भए लगत्तै सो स्थानमा पुगेका प्रहरीले उनीहरूको कोठाबाट हिमाल सुरक्षा परिषद नेपाल नामको भूमिगत संगठनको पर्चा समेत बरामद भएको जनाएको छ । विगत एक वर्ष अघिबाट सो घरमा बसोबास गर्दै आएका थापाको कोठामा गुरुङ विगत एक महिना देखि देखिन थालेको स्थानीयले बताएका छन् ।

हिमाल सुरक्षा परिषद नामको सङ्गठनले विभिन्न माग राखी गत फाल्गुण १५ गते विज्ञप्ति जारी गर्दै सशस्त्र युद्धको घोषणा गरेको थियो । संघीयता खारेज, ५ विकास क्षेत्र कायम , हिन्दु राष्ट्र कायम , नागरिकता छानबिन , भारत–चीन सिमा विवाद समाधान , स्वदेशी उत्पादनलाई प्राथमिकता र एमसीसी सम्झौता खारेज लगायतका माग राख्दै आफ्नो सङ्गठनले सशस्त्र युद्ध थालेको जानकारी गराएको थियो ।

संगठन सार्वजनिक भए लगत्तै परिषदले झापाको बिर्तामोड र दमकमा बम आतङ्क फैलाएको थियो । सो समयमा सङ्गठनका ९ जनालाई प्रहरीले पक्राउ गरेको थियो भने अनुसन्धानमा खुलेका अन्य केही भारत भागेको आशंका गरेको थियो ।