पोखरा / विगतको आफ्नो पार्टी नेकपा एमालेको पक्षमा लाग्ने र सहयोग पुग्ने गरी काम र गतिविधि गर्ने गरेको भनेर आरोप खेपिरहेकी एमालेकी पूर्व नेता समेत रहेकी राष्ट्रपति विध्यादेवी भण्डारीलाई पोखरामा आयोजित एक कार्यक्रममा जनप्रतिनिधिले नै बहिष्कार गरेका छन् ।

आफू पदमा रहँदा सँधै एमालेको पक्षमा लागेको आरोप खेप्ने गरेकी उनलाई पोखरा महानगरपालिकामा आयोजित न्यायिक समितिको राष्ट्रिय सम्मेलनमा सहभागि कांग्रेसका जनप्रतिनिधिले बहिष्कार गरेका हुन् ।

OM Sai Pathibhara Hospital

निर्वाचनको माहोल सुरु भएपछि आयोजित सम्मेलनमा पोखरा महानगरका कांग्रेस जनप्रतिनिधिले बहिष्कार गरेका हुन् । स्वार्थपूर्ण तरिकाले कार्यक्रम आयोजना गरिएको भन्दै उनीहरूले राष्ट्रपति सहभागि कार्यक्रम बहिष्कार गरेका हुन् ।

राष्ट्रपतिको कार्यक्रम जनप्रतिनिधिले नै बहिष्कार गरेको विषयलाई पोखरा ९ का वडाअध्यक्ष रामराज लामिछानेले समेत पुष्टि गरेका छन् । महानगरपालिकाका लागि कांग्रेस दलको नेता समेत रहेका लामिछानेले आफ्नो दलका जनप्रतिनिधिलाई समेत नराखिएको न्यायिक समितिको कार्यक्रम बहिष्कार गरिएको बताएका छन् ।

न्यायिक सम्मेलन पहिला नै हुनु पर्ने भएपनि निर्वाचनको मुखमा पारेर गर्नुले एमालेको स्वार्थ देखिएको भन्दै कांग्रेस प्रतिनिधिले सम्मेलन बहिष्कार गरेका हुन् । पोखरा महानगरमा कांग्रेसका ११ वडाध्यक्ष सहित कूल ४७ जनप्रतिनिधि रहेका छन् ।