बिर्तामोड / रुस– युक्रेनबीच युद्धको कारण देखाउँदै निर्माण सामाग्रीको मूल्यवृद्धि भईरहेका बेला सिमेन्ट उद्योगले समेत आफूखुसी दुईसातामा फेरी दोस्रो पटक मूल्यवृद्धि गरेका छन् । नियामक सरकारी निकायको बेवास्ताको फाइदा उठाउँदै सिमेन्ट उद्योगले दोस्रो पटक मूल्यवृद्धि गरेका हुन् ।

गत फागुन अन्तिम साता प्रतिबोरा ५० रुपैयाँदेखि ७० रुपैयाँसम्म मूल्य बढाएका उद्योगीले फेरि प्रतिवोरा ३५ देखि ४० रुपैयाँ मूल्य बढाउन थालेका हुन् । केही सिमेन्ट उद्योगले मूल्यवृद्धि गरिसकेको र बाँकी रहेकाले पनि मूल्यवृद्धि भएर आउने जानकारी गराएको व्यवसायीहरूले बताएका छन् ।

अन्तराष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य अकासिएको भन्दै डन्डी उद्योगले मूल्य बढाएपछि स्वदेशी कच्चा पदार्थकै भरमा सिमेन्ट उत्पादन गर्दै आएका उद्योगले मूल्य बढाएपछि सिमेन्टको मूल्य पनि अकासिन थालेको हो ।

बजार अनुगमनको जिम्मेवारी बोकेका उद्योग मन्त्रालय र वाणिज्य , आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको बेवास्ताको फाइदा उठाउँदै आफूखुसी सिमेन्ट उद्योगले हप्तै पिच्छे मूल्यवृद्धि गर्न थालेपछि उपभोक्तावादी संस्थाले सो कुराको विरोध गरेका छन् ।

रुस – युक्रेन युद्ध अघि ७०० रुपैयाँदेखि ८०० रुपैयाँ रहेको ओपीसी सिमेन्टको मूल्य अहिले प्रतिवोरा ८५० रुपैयाँ पुगेको छ । त्यस्तै, ६८० रुपैयाँदेखि ७०० रुपैयाँ रहेको पीपीसी सिमेन्टको मूल्य ७५० रुपैयाँ पुगेको छ ।

त्यसैगरी युद्धलाई नै कारण देखाउँदै बजारमा छडको मूल्य समेत अस्वभाविक रुपमा बढेको छ । छडको मूल्य प्रतिकिलो १३० रुपैयाँदेखि १४० रुपैयाँसम्म पुगेको छ ।

वाणिज्य विभागले छडको मूल्य अत्यधिक बढेको भन्दै उद्योगीसँग मूल्य बढ्नुको कारण माग गरेको छ । केही दिन अघि उद्योगीलाई विभागमा नै बोलाएर मूल्य बढ्नुको लिखित जवाफ पेश गर्न निर्देशन दिएको थियो । विभागको निर्देशन बमोजिम न त उद्योगीले जवाफ नै बुझाएका छन् न त जवाफ नबुझाउने उद्योगमाथि कारवाही नै सुरु भएको छ ।

विभागका निर्देशक हरि पँगेनीले सिमेन्ट उद्योगीले मूल्य बढाएको गुनासो आएको बताउँदै ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई बजार अनुगमन गरी विभागलाई जानकारी गराउन निर्देशन दिइएको बताएका छन । उनले अस्वभाविक रुपमा मूल्यवृद्धि गरेको पाइए सिमेन्ट र छड उद्योगमाथि कारवाही थालिने बताएका छन् ।