झापा / आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले जिल्लामा रहने मुख्य निर्वाचन अधिकृत र पालिकामा खटिने निर्वाचन अधिकृत तोकेको छ । 

चैत २९ गतेदेखि लागू हुनेगरि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकेको निर्वाचन आयोगले जनाएको छ । 

OM Sai Pathibhara Hospital

आयोगले जिल्ला सदरमुकाम रहेका स्थानीय तहमा सम्बन्धित जिल्ला अदालतको ज्येष्ठतम न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत तोकेको छ भने स्थानीय तहका लागि जिल्ला न्यायाधीश, न्याय सेवाका उपसचिवहरू र निजामती सेवाका उपसचिवहरू रहने गरी निर्वाचन अधिकृत तोकेको आयोगले जनाएको छ । 

झापाको मुख्य निर्वाचन अधिकृतका रुपमा झापा जिल्ला अदालतका ज्येष्ठतम न्यायाधीश गिरिराज गौतमलाई तोकिएको छ । गौतमले भद्रपुर नगरपालिकाको निर्वाचन अधिकृतका रुपमा समेत काम गर्नेछन् । 

मेचीनगरको निर्वाचन अधिकृतमा रेल विभागका उपसचिव वेदराज फुयल, अर्जुनधारा नगरपालिकामा लोकबहादुर कटुवाल, कनकाई नगरपालिकामा दीपक कोइराला, कचनकवल गाउँपालिकामा वीरेन्द्र बस्नेत, दमक नगरपालिकामा केशव प्रसाद पन्त र बिर्तामोड नगरपालिकामा डम्बर प्रसाद काफ्ले रहेका छन् । 

त्यस्तै कमल गाउँपालिकामा प्रकाश गौतम, गौरादह नगरपालिकामा विदुर कुमार कार्की, गौरीगञ्ज गाउँपालिकामा लालबहादुर श्रेष्ठ, झापा गाउँपालिकामा झरेन्द्र प्रसाद चापागाईँ, बाह्रदशी गाउँपालिकामा पुष्कलराज प्रसाईँ, बुद्धशान्ति गाउँपालिकामा डम्बरुप्रसाद निरौला, शिवसतासी नगरपालिकामा ऋषि पौडेल र हल्दीबारी गाउँपालिकामा नारद प्रसाद भट्टराई निर्वाचन अधिकृतका रुपमा तोकिएका हुन । 

स्थानीय तह निर्वाचनका लागि तोकिएका सबै मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूलाई बैशाख २ गते भित्र अभिमुखीकरण तालिम दिइसक्ने निर्वाचन आयोगले जनाएको छ ।