खोटाङ / आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि खोटाङमा १३ दल दर्ता भएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार ६ ठूला दलबाहेक १३ साना दलले निर्वाचनका लागि चिह्न लिन दल दर्ता गराएका हुन्।

जिल्ला निर्वाचन कार्यालयमा दल दर्ता गराउनेमा किरात खम्बुवान साझा पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, सामाजिक एकता पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, खम्बुवान राष्ट्रिय मोर्चा नेपाल, राष्ट्रिय जनमुक्ति पार्टी, जनसमाजवादी पार्टी रहेका छन् । 

OM Sai Pathibhara Hospital

त्यस्तै नेपाल, मङ्गोल नेशनल अर्गनाइजेसन, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, नेपाल मजदुर किसान पार्टी, उन्नत लोकतन्त्र पार्टी, नेपालको लागि नेपाली पार्टी र नेपाल कम्युनिष्ट पार्टी (समाजवादी)ले दल दर्ता गरेको छ । 

निर्वाचन आयोगले दलहरूलाई आफ्नै निर्वाचन चिन्ह लिनका लागि चैत ४ गतेदेखि ६ गतेसम्म आवेदन दिने समय दिएको थियो। आयोगले तोकेको समयमा खोटाङमा क्रियाशील १३ दलले आफ्नै निर्वाचन चिह्नका लागि विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालय खोटाङका सूचना अधिकारी लोकेन्द्रकुमार राईले जानकारी दिए।

राष्ट्रिय मान्यता प्राप्त दल नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले भने जिल्लामा विवरण बुझाउनु नपर्ने सूचना अधिकारी राईले बताए ।