काठमाण्डौ / अमेरिकी सहयोग परियोजना एमसीसी कार्यान्वयनमा गएपछि एमसीसी प्रति असन्तुष्ट बनेको छिमेकी मुलुक चिनका विदेशमन्त्री नेपालको तीन दिने भ्रमणका क्रममा काठमाण्डौ आइपुगेका छन् ।

पाकिस्तान , अफगानिस्तान र भारतको भ्रमण सकेर चिनिँया विदेशमन्त्री वाङ यी शुक्रबार तिन दिनका लागि काठमाण्डौ आईपुगेका हुन् ।

नेपाल सरकारको निमन्त्रणामा नेपाल आएको बताइएपनि पछिल्लो समयमा पश्चिमा मुलुक नेपालमा हावी भएको अवस्थामा उनी नेपाल आइपुगेका हुन् ।

भारतको नयाँ दिल्लीबाट विशेष विमानबाट काठमाण्डौ आइपुगेका उनी विमानस्थलबाट सिधै बत्तिसपुतली स्थित होटल द्धारिकाज गएका छन् । नेपालमा रहँदा उनी होटल द्धारिकाजमा नै रहने काठमाण्डौ स्थित चिनियाँ दुतावाशले जानकारी गराएको छ ।

नेपाल भ्रमणमा आएका उनको स्वागतका लागि परराष्ट्र मन्त्रालयका उच्च अधिकारी विमानस्थलमा नै पुगेका थिए ।

चिनियाँ विदेशमन्त्रीका रुपमा यसपटकको भ्रमण उनको तेस्रो नेपाल भ्रमण हो । शुक्रबार अपरान्ह ४ बजे काठमाण्डौ आइपुगेका उनको शुक्रबार भने कुनै औपचारिक कार्यक्रम रहेको छैन ।

आजै साँझ केहिबेरको आराम पछि उनी काठमाण्डौ स्थित चिनियाँ दूतावास जाने र त्यहाँ नेपालमा रहेका चिनियाँ नागरिकसँग भेटघाट गर्ने अनौपचारिक कार्यक्रम रहेको दूतावासले जनाएको छ ।

हरेक पटकको भ्रमणका क्रममा काठमाण्डौका आसपासका क्षेत्रमा रहेका पर्यटकीय स्थलको भ्रमण गर्ने उनले यसपटक पनि शिवपुरी क्षेत्र जाने कार्यक्रम रहेको छ । शनिबार बिहान उनी हाइकिङका लागि शिवपुरी जाने कार्यक्रम रहेको र शिवपुरीबाट फर्किए लगत्तै राजनैतिक भेटवार्ता थाल्ने दुतावासले जानकारी गराएको छ ।

विदेशमन्त्री यीले शनिबार बिहान १० बजे परराष्ट्रमन्त्री डा नारायण खड्कासँग सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा नै  भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

शनिवार नै सिंहदरवारमा दुई देशका विदेशमन्त्रीको उपस्थितिमा उच्चस्तरीय बैठक बस्ने छ । बैठक सकिए लगत्तै र्दु देशबीच केहि विषयमा सम्झौता र समझदारीमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको भएपनि के के विषयमा सम्झौता हुने हो भन्ने केही पनि सार्वजनिक भएको छैन ।

विदेशमन्त्री स्तरीय वार्ता सकिए लगत्तै उनी सिंहदरवारबाट सोझै प्रधानमन्त्रीसँग भेटका लागि बालुवाटार जाने कार्यक्रम रहेको छ ।

उनले आइतबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीलाई शीतल निवास नै पुगेर भेट गर्ने कार्यक्रम रहेको छ  भने आइतबार नै मध्यान्ह नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्ने कार्यक्रम रहेको छ ।

प्रचण्ड र ओली सहितका राजनीतिक दलका नेतासँग भने उनले नक्साल स्थित होटेल मेरियटमा भेट गर्ने कार्यक्रम रहेको छ ।

नेपाल भ्रमणमा आएका यी आइतबार नै चिन फर्किने तालिका रहेको दूतावासले जनाएको छ ।


चिनियाँ विदेशमन्त्रीको भ्रमण सुरु भएसँगै काडमाण्डौको सुरक्षा व्यवस्था कडा पारिएको छ । चिन विरोधी प्रदर्शन हुन नदिन गुम्वा र तिव्वती शरणार्थी रहेका क्षेत्रको सुरक्षा कडा बनाईएको छ ।

चिन विरोधी गतिविधीमा संलग्न मानिएका काभ्रेका विकास गिरी लगायतलाई प्रहरीले पक्राउ गरेको भएपनि गृहमन्त्रालयले सो विषयमा कुनै पनि विवरण सार्वजनिक गरेको छैन ।