काठमाण्डौ / एमसीसी सम्झौताका विषयमा दोधारे चरित्र देखाउँदै मौनता साध्दै आएको नेकपा एमालेले पनि अन्तत एमसीसीलाई स्वीकार गरेको छ । 

बुधबार बसेको एमाले केन्द्रीय समितिको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमा नै एमसीसीको विषय उल्लेख गरेर एमालेले सो विषयमा साध्दै आएको आफ्नो दलको मौनता तोडेको हो । 

OM Sai Pathibhara Hospital

आफ्नो दल सरकारमा रहेको समयमा एमसीसी पारित गर्न भएजति सबै कोसिस गरेको एमालेले सत्ताच्युत भएपछि सो विषयमा मौनता साध्दै आएको थियो । 

ओलीले बैठकमा पेश गरेको प्रतिवेदनमा सरकारले गरेको सम्झौता अनि त्यो सम्झौता कार्यान्वयन गर्न भएको अनुमोदनलाई एमालेले स्वीकार गर्ने उल्लेख गरिएको छ । निकै विवादका बिच पारित भएको सम्झौताका विषयमा जनमतलाई विभाजित गराउनु मुलुकका लागि हितकर नहुने भन्दै प्रतिवेदनमा सम्झौता कार्यान्वयनमा जोड दिइएको छ । 

प्रतिवेदनमा समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा गर्न व्यापक मात्रामा वैदेशिक सहयोग जरुरी रहेको भन्दै सोही उद्देश्य पुरा गर्न एमसीसी सम्झौता कार्यान्वयन गर्न आवश्यक रहेको संकेत गरिएको छ । 

राष्ट्रहित विपरीतका सम्झौता स्वीकार्य नहुने भन्दै प्रतिवेदनमा एमसीसी राष्ट्रहित अनुकुलकै सम्झौता भएको समेत दावी गर्न खोजिएको छ । आफ्नै दलका नेता भीम रावलले एमसीसी राष्ट्रघाति भएको दावी गरिरहेका बेला ओलीको प्रतिवेदनमा घुमाउरो पाराले राष्ट्रहितकै लागि एमसीसी स्विकार्नु पर्नेमा जोड दिइएको छ । 

प्रतिवेदनमा एमसीसीको विषयमा भएको व्याख्यात्मक घोषणाको अर्थ नभएको र त्यसले भ्रम सिर्जना गर्ने काम गरेको दावी गरिएको छ ।  एमसीसीसम्बन्धी विवाद तत्कालीन नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीलाई पदच्युत गर्ने लक्ष्यसहित विकृत रुपमा एमसीसीका विरुद्ध प्रचार गरिएको पनि प्रतिवेदनमा दावी गरिएको छ ।