बिर्तामोड / बामपन्थी दलको गठबन्धन बन्ने सम्भावना बढ्न थालेपछि चुनाव हार्न सक्ने भयले सत्तारुढ दल नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा गठबन्धन बनाएर जाने भएको छ । माओवादी, एकीकृत समाजवादी , जसपा लगायतका दलले स्थानीय तह चुनावमा गठबन्धनका लागि खुला रहने निर्णय गरेसँगै चुनावी तालमेलका लागि तयार नभएको कांग्रेसले गठबन्धन जोगाएर जाने योजना बनाएको हो ।

कांग्रेसले गठबन्धनमा रहेको माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चालाई एमालेलगायत अन्य दलसँग तालमेल गर्न नपाउने रणनीति बनाएको छ । गठबन्धन बाहेकका दलसँग तालमेल गर्न नपाउने सर्त राख्दै पार्टीको केन्द्रीय समिति बैठकले चैत ११ गते औपचारिक  रुपमा निर्णय गर्ने भएको हो ।

OM Sai Pathibhara Hospital

सत्तारुढ गठबन्धनले भागबन्डा विधि टुंगो लगाउन संयन्त्र बनाउँदै ७ सय ५३ वटै स्थानीय तहसम्म चुनावी तालमेल गर्ने तयारी गरेको छ । गठबन्धनले महानगरपालिका र उपमहानगरपालिकाका साझा उम्मेदवारको निर्णय केन्द्रबाटै गर्ने तयारी गरेको छ भने नगरपालिका र गाउँपालिकाको लागि प्रदेश र जिल्ला समितिलाई अधिकार दिएर चुनावी तालमेलको निर्णय गर्ने तयारी भइरहेको छ ।

गठबन्धनमा रहेका दलबाट दुई दुईजना राखेर एक दुई दिनभित्र नै संयन्त्र बनाउने तयारी भइरहेको कांग्रेसका एक नेताले बताएका छन् । प्रधानमन्त्री देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालबीच मंगलबार स्थानीय तह निर्वाचनका लागि संयन्त्र बनाउने बारे छलफल भएको थियो ।  

गठबन्धनका दलहरूले देशभरबाट आफ्नो पक्षको चुनावी रिपोर्ट संकलन गरिसकेका छन् भने यो अवधिमा एक महिने अभियान समेत चलाइरहेका छन् ।