बिर्तामोड / अभिनेत्री करिश्मा मानन्धर आज नेकपा एमालेमा प्रवेश गर्ने भएकी छन् । संघीय राजधानी काठमाण्डौमा आज आयोजना हुने पार्टी प्रवेश कार्यक्रममा उनी एमाले प्रवेश गर्ने एमालेले जनाएको छ ।

अभिनेतृ मानन्धरसँगै आज हुने पार्टी प्रवेश कार्यक्रममा समाजवादी जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रेमबहादुर सिंहको नेतृत्वमा रहेको सिंगो पार्टी नै एमालेमा समाहित हुने समेत एमालेले जानकारी गराएको छ ।

पार्टी केन्द्रीय कार्यलयमा एक कार्यक्रमबीच अध्यक्ष केपी शर्मा ओलीले मंगलबार दिउँसो १ बजे उनीहरूलाई पार्टी प्रवेश गराउनेछन् ।

यसअघि अभिनेत्री मानन्धर डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीमा सक्रिय थिइन् भने सिंह तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको मन्त्रिपरिषदमा २०७३ सालमा खानेपानी मन्त्री भएका थिए।