धनकुटा / आसन्न स्थानीय निकायको निर्वाचनको चुनावी माहोल सुरु भएसँगै दलहरूले निर्वाचन जित्न तयारी थालेका छन् । सत्तारुढ दलबीच चुनावी तालमेलका विषयमा छलफल भएपनि ठोस निर्णय हुन नसकिरहेका बेला प्रदेश १ को धनकुटामा भने सत्तारुढ दलले साझा उमेदवार तय गरी निर्वाचनमा लड्ने औपचारिक निर्णय नै गरेका छन् ।

पार्टीको केन्द्रिय तहबाट समेत निर्णय हुन नसकिरहेका बेला सत्तारुढ दल धनकुटामा भने साझा उमेदवार तय गर्न एकजुट बनेका छन् । गठबन्धनमा रहेका अनि धनकुटामा बलियो संगठन भएका नेपाली कांग्रेस , नेकपा माओवादी केन्द्र , नेकपा एकीकृत समाजवादी र संघीय समाजवादी धनकुटाका स्थानीय तहमा साझा उमेदवार बनाएर निर्वाचन लड्न सहमत भएका हुन् ।

OM Sai Pathibhara Hospital

सत्तारुढ चार दलले सामूहिक रुपमा पत्रकार सम्मेलन नै गरेर निर्वाचनमा साझा उमेदवार तय गर्ने विषयमा सहमति जुटेको र प्राविधिक पक्ष मिलाउन बाँकी रहेकाले केही दिन भित्रै गठबन्धनका तर्फबाट साझा उमेदवार तय गरी सार्वजनिक गर्ने जानकारी गराएका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै सत्तारुढ दल कांग्रेसका जिल्ला सभापति दिनेश राईले केन्द्रमा गठबन्धन नबनेपनि जिल्लामा गठबन्धन बन्ने र केन्द्रको निर्णय जिल्लामा लागू नहुने बताएका छन् । उनले जिल्लामा सहयात्री दलबीच भएको सहमति अस्वीकार नगर्न पनि गठबन्धनका तर्फबाट पार्टी नेतृत्वसँग आग्रह गरेका छन् ।

पत्रकार सम्मेलनमा बोल्ने नेताहरूले गठबन्धनमा रहेका दलले विगत निर्वाचनमा ल्याएको मतका आधारमा भागबन्डा गर्ने समझदारी भएको बताएका छन् ।

पत्रकार सम्मेलनमा कांग्रेसका केन्द्रीय आमन्त्रित सदस्य मनोहरनारायण श्रेष्ठ, नेकपा (माओवादी केन्द्र) का संयोजक डिल्लीराम राई, नेकपा (एकिकृत समाजवादी) का अध्यक्ष अर्जुन राई र जनता समाजवादी पार्टीका अध्यक्ष बलबहादुर राई सहभागी थिए ।