काठमाण्डौ / चिनियाँ विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यी तीन दिने नेपाल भ्रमणको सिलसिलामा शुक्रबार काठमाण्डु आउने भएका छन् ।
नेपाल र चीन दुबै देशले वाङको नेपाल भ्रमणको आज औपचारिक घोषणा गर्दै छन् । उनले यही चैत ११ देखि १३ गतेसम्म नेपालको भ्रमण गर्नेछन् । तय भएको कार्यक्रम अनुसार चिनियाँ विदेशमन्त्री वाङ चैत ११ गते बेलुकी काठमाण्डु आइपुग्ने छन् ।
बिदेशमन्त्री वाङको महत्त्वपूर्ण कार्यक्रमहरू सबै चैत १२ र १३ गतेलाई राखिएको छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार चैत १२ गते नेपाल-चीन परराष्ट्रमन्त्री स्तरीय द्विपक्षीय बैठक बस्नेछ । भ्रमणमा बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) अन्तर्गत नेपालले तयार पारेका ९ वटा आयोजनाका विषयमा छलफल हुने जनाइएको छ ।
नेपाल भ्रमणको बेला उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र अन्य प्रमुख दलका शीर्ष नेताहरूसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । चिनियाँ विदेश मन्त्री वाङ चैत १३ गते साँझ स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
अमेरिकी अनुदानको एमसीसी सम्झौता अनुमोदन भएलगत्तै उत्तरी छिमेकका विदेशमन्त्रीबाट हुन लागेको भ्रमणलाई अर्थपूर्ण मानिएको छ । बेइजिङमा नेपाली राजदूत पद रिक्त राखेर शेरबहादुर देउवा सरकारले भारत, बेलायत, अमेरिकाका लागि मात्रै राजदूत सिफारिस गरेकामा पनि चीन असन्तुष्ट रहेको विज्ञहरूले बताउँदै आएका छन् ।
बीआरआईका लागि सन् २०१४ मा सैद्धान्तिक सहमति जनाएको नेपालले सन् २०१७ मे १२ मा त्यसअन्तर्गतका परियोजनामा हस्ताक्षर गरेको थियो । तर बीआरआई अन्तर्गत छनोट गरिएका केरुङ–काठमाण्डु रेलमार्ग, रसुवागढी(काठमाण्ड) सडकमार्ग विस्तार, अरनिको राजमार्ग स्तरोन्नति, मदन भण्डारी विश्वविद्यालय स्थापना जस्ता परियोजनाको कार्यान्वयन अघि बढेको छैन ।