बिर्तामोड / यौन दुर्व्यवहारको विषयमा मोरङको लेटाङ आज पनि तनावग्रस्त रहेको छ । आइतबार स्थानीय र प्रहरी बिचको झडपका क्रममा एक महिला प्रहरीको मृत्यु भएपछि लेटाङ क्षेत्र तनावग्रस्त बनेको छ । स्थानीय प्रशासनले स्थिति सामान्य बनाउन सोमवार बिहान ६ बजेबाट अनिश्चितकालका लागि कर्फ्यु आदेश जारी गरेको छ ।

लेटाङ ५ को खेरुवा लाई केन्द्र मानेर आसपासको ठूलो क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको हो । कर्फ्यु आदेश जारी गर्दै प्रसाशनले ठूलो सङ्ख्यामा सशस्त्र र जनपथ प्रहरी परिचालन गरेको छ ।

OM Sai Pathibhara Hospital

खेरुवामा रहेको शिक्षा विकास माविका शिक्षक मनोज पौडेलले सोही विद्यालयमा अध्ययनरत १२ वर्षीया छात्रालाई दुर्व्यवहार गरेको विषयमा छलफल गर्न आइतबार विद्यालयले बोलाएको सर्वपक्षीय छलफलमा उपस्थित स्थानीयले पौडेलमाथि आक्रमणको प्रयास गरेपछि झडप भएको थियो ।

पौडेललाई जोगाउन खोज्ने  प्रहरी र स्थानिय बिच भएको झडपमा परी २४ वर्षीया प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको थियो भने २५ प्रहरी र ६ स्थानीय घाईते बनेका थिए । स्थानीयले श्रेष्ठ माथि छुरा र चाकु प्रहार गरेका थिए । घटनामा जिल्ला प्रहरी कार्यालय मोरङका एसपी जनार्दन जिसी सहितका प्रहरी घाईते भएका थिए , उनीहरूको विराटनगर स्थित अस्पतालमा उपचार भइरहेको छ ।

आफ्नै विद्यालयकी १२ वर्षीया छात्रामाथि यौन दुर्व्यवहार गर्ने शिक्षक पौडेलको यो घटना नयाँ भने हैन । आरोपी शिक्षक माथि यसअघि पनि पटक– पटक यौन दुर्व्यवहार आरोप लाग्दै आएको छ । २०७३ सालमा पनि आफ्नै विद्यालयका छात्रामाथि यौन दुर्व्यवहार गरेको विषयमा आगामी दिनमा फेरि त्यस्तो नगर्ने व्यहोरेको कागज गरेका भरमा कानुनी कारवाहीबाट उन्मुक्ति पाएका थिए ।

पटक पटक अपराध कर्म गर्दै आएका उनीलाई छुट दिन नहुने निष्कर्षमा पुगेका स्थानीयले भौतिक कारवाही गर्ने तयारी गरेका थिए । तर सर्वपक्षीय छलफल भइरहेको स्थानमा भेला भएका सुरक्षाकर्मीले पौडेलको सुरक्षा गर्न कोसिस गरेका थिए । पौडेललाई जोगाउन खोज्ने प्रहरीमाथि नै स्थानीय जाई लागेपछि दुई पक्षबीच झडप भएको थियो ।

झडपमा परी मोरङ प्रहरी प्रमुख जिसी र उनका बडिगार्ड मेघचन्द्र राई सहित प्रहरी हवलदार कृष्ण कुमार यादव, उमेश बरही, संगीता प्रसाईँ, सञ्जय यादव , खुबी सावा, प्रहरी जवान जाबुक खड्का, लाल मिश्रा, सञ्जय भुजेल, विमल धिमाल र दीपक कुमार यादव घाईते भएका थिए ।

त्यसैगरी प्रहरी हवलदार सन्त बहादुर मगर, मिक्वा योङहाङ, शिव कुमार यादव , रेनुका सोनाम , दिपेश राय, मनिता राई र धुव्रबहादुर कार्की पनि घाइते भएका छन् ।

आइतवारको झडप पछि तनावपूर्ण बनेको लेटाङमा शान्ति सुव्यवस्था कायम गर्न जिल्ला प्रशासन कार्यालय मोरङले लेटाङको वडा ३ र ४ को पश्चिम एरिया गंगे चोक र कमलपुर क्षेत्र, ५ वडाको सबै क्षेत्र, उत्तरमा लेटांगको ६ नम्बर वडा कार्यालय क्षेत्र, पूर्वमा मोरंङे खोला क्षेत्र, पश्चिममा चिस्याङ खोला क्षेत्रमा कर्फ्यू लगाएको छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले लेटाङमा भएको घटनालाई हिंस्रक बनाउने र प्रहरीको हत्या गर्ने काममा संलग्न भएको अभियोगमा ६ जनालाई पक्राउ गरी अनुशन्धान थालिएको जानकारी गराएका छन् । उनले पक्राउ पर्नेको विवरण भने अनुशन्धानमा असर पर्ने जनाउँदै सार्वजनिक गर्न नसक्ने वताएका छन् ।

आइतबार साँझबाट सुरु भएको तनाव सुरक्षाकमीको नियन्त्रणमा आएको र सो क्षेत्रमा ठूलो सङ्ख्यामा जनपथ र सशस्त्र प्रहरी परिचालन गरीएको उनले वताएका छन् ।