बिर्तामोड / रुस – युक्रेन युद्धका कारण विद्युतको मूल्य बढेपछि नेपाललाई पनि ठूलो असर पर्ने देखिएको छ । भारतमा विद्युतको मूल्य आकासिएपछि नेपालले ठूलो आर्थिक नोक्सानी ब्यहोर्नु पर्ने भएको हो ।

भारतमा कोइलाको मूल्य बढेपछि विद्युतको मूल्य निरन्तर उकालो लाग्न थालेपछि त्यसको असर नेपालमा पनि देखिन थालेको छ । भारतले कोइलाको प्रयोगबाट ठूलो परिमाणमा विद्युत उत्पादन गर्ने गरेको छ ।

OM Sai Pathibhara Hospital

युद्धका कारण अन्तराष्ट्रिय बजारमा कोइलाको मूल्य बढ्दा भारतमा विद्युतको मूल्य अकासिएको हो । केही महिना अघि पनि कोइलाको मूल्यकै कारण भारतले उर्जा संकट खेप्नु परेको थियो ।

वर्षायाममा नेपालमा नै उत्पादित बिजुलीले मुलुकको माग धान्न थालेको र निर्यात समेत गर्न सुरु गरेको भएपनि सुक्खायामका भने नेपाल भारतकै भर पर्ने गरेको छ । भारतबाट सुख्खा याम सुरु भएसँग सुरु भएको विद्युत आयातका क्रममा विद्युतको खरिद मूल्य नै प्रति युनिट ३५ रुपैयाँ सम्म पुगेको छ ।

नेपाल विद्युत प्राधिकरणले पनि विद्युतको मूल्य भारतमा बढेकाले महँगोमै किनिएको विद्युत सस्तोमा उपभोक्तालाई दिनु पर्दा प्राधिकरणलाई ठूलो आर्थिक नोक्सानी भइरहेको जनाएको छ । प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले नेपालले हाल औसतमा दैनिक १ करोड २० लाख युनिट सम्म विद्युत भारतबाट आयात गरिएको जानकारी गराएका छन् ।

नेपालले भारतसँग इन्डियन इलेक्ट्रिसिटी एक्सचेन्ज (आईईएक्स) मार्फत रियल टाइममा दर बिड गरेर बिजुली किनि रहेकाले यो मूल्यमा उतारचढाव हुँदा खरिद दर ३५ रुपैयाँसम्म पुगेको हो । नेपालले अहिले भारतका ९६ वटा पावर ब्लकहरु मार्फत बिजुली खरिद बिक्री कारोबार गर्ने गरेको छ ।