बिर्तामोड / आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सुरक्षाका लागि आवश्यक रहेको भन्दै सरकारले आइतबार म्यादी प्रहरीका लागि भर्ना खुला गरेको छ ।
देशभर रहेका प्रहरी कार्यालयले सार्वजनिक सूचना जारी गरी म्यादी प्रहरीमा भर्नाका लागि आवेदन माग गरेका हुन् । जिल्ला प्रहरी कार्यालयले सूचना जारी गरी तोकिएको कोटाअनुसार म्यादी भर्नाका लागि आवेदन आह्वान गरेका हुन् ।
देशभरका जिल्लामा म्यादी भर्नाका लागि तोकिएको कोटाअनुसार आवेदन दिन सक्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ । १८ वर्ष पूरा भएका र ५४ वर्ष ननाघेका नागरिकले म्यादी प्रहरीमा भर्नाका लागि यही चैत ११ गतेसम्म निवेदन दिन सक्नेछन् ।
४० दिनका लागि म्यादी प्रहरी भर्ना गर्न लागिएको हो । म्यादी प्रहरीले प्रहरी जवान सरह सुविधा पाउने छन् । छनोट भएका म्यादी प्रहरीलाई ७ दिन तालिम दिएर निर्वाचनका लागि खटाउने सरकारको तयारी छ ।
गृहमन्त्रालयका अनुसार म्यादी प्रहरीले दिनको ७५६ रुपैयाँका दरले तलब पाउने छन् । ४० दिनको ७ हजार रुपैयाँ रासन भत्ता, पोसाक भत्ता ६ हजार र एक हजार रुपैयाँ यातायात खर्च उपलब्ध गराइने मन्त्रालयले जनाएको छ ।