बिर्तामोड / मुलुकका सबै संयन्त्र आगामी वैशाखमा हुने निर्वाचनमा केन्द्रित रहेका बेला चुनावी सुरक्षाको प्रमुख दायित्व बोकेको सशस्त्र प्रहरी बलमा नेतृत्व परिवर्तन हुने भएको छ ।

निर्वाचनको १० दिन अघि सशस्त्रका हालमा प्रमुख आईजीपी शैलेन्द्र खनाल ४ वर्षे पदावधिका कारण अवकाश हुने भएकाले नेतृत्वमा हुने फेरबदललाई चासो अनि महत्वका साथ हेरिएको छ ।

OM Sai Pathibhara Hospital

स्थानीय निकायको चुनावको समयमा एक महिनाको बिचमा नेतृत्वमा तिन जना पुग्ने अवस्था आएपछि चासोका साथ हेरिएको हो ।

मुलुक निर्वाचनमय भएको समयमा हुने नेतृत्वमा लगातारको फेरबदलले सुरक्षामा पार्ने प्रभावलाई लिएर गृहमन्त्रालय र राजनीतिक दलले समेत चासो दिन थालेका छन् । हालका सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल यही चैत २८ गते ४ वर्षे पदावधिका कारण अवकाश पाउदैछन् ।

खनाल अवकाश भएपछि उनको स्थानमा हालका एआईजी द्वय पुष्पराम केसी र रामशरण पौडेल मध्ये एक जना जम्मा२१ दिनका लागि मात्रै आइजीपी हुने अवस्था रहेको छ । उनीहरु दुवै जना वैशाख १९ मा ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाश हुनेछन् ।

उनीहरु अवकाश भए लगत्तै भावी नेतृत्वको दौडमा डिआइजी राजु अर्याल, नारायणदत्त पौडेल र चन्द्र प्रकाश गौतम मध्ये एक जना आईजीपी बन्ने छन् ।पुष्पराम केसी वा रामशरण पौडेल मध्ये एक जना आइजी नियुक्त भएपछि रिक्त रहेको एआईजी पदमा जो  बढुवामा पर्छ उही नै सशस्त्रको भावी आइजीपी हुनेछन्।

सशस्त्र प्रहरी नियमावलीमा ज्येष्ठताका साथै कार्य कुशलता, कार्यसम्पादन क्षमता, उत्तरदायित्व वहन गर्नसक्ने क्षमता, नेतृत्व प्रदान गर्न सक्ने कुशलता, आफ्नो मातहतका प्रहरीलाई प्रोत्साहन र परिचालन गर्न सक्ने सामर्थ्यलाई मूल्यांकन गरेर नेपाल सरकारले बढुवा गर्न सक्ने व्यवस्था गरिएकोले अहिलेसम्म नेतृत्वका विषयमा अड्कल काट्न सक्ने अवस्था रहेको छैन ।