पोखरा / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नै बलमा चुनाव लड्ने दाबी गरेका छन् । प्रेस सेन्टर गण्डकीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले माओवादीप्रति जनमतको उभार आएको भन्दै अरूको बैशाखी आवश्यक नपर्ने बताएका हुन् ।

जनतामा राष्ट्र र लोकतन्त्र जोगाउने पार्टी माओवादी नै रहेछ भन्ने महसुस भएको भन्दै उनले आफूहरू नै पहिलो पार्टी बन्ने सम्भावना रहेको दाबी गरे । ‘देशभरिको स्थिति हेर्दा पहिलो पार्टी बन्ने सम्भावना छ । कार्यक्रममा उभार राम्रो छ । माओवादी नै रहेछ देश बचाउने भन्ने भएको छ,’ उनले भने, ‘अरूको बैशाखी कसैको टेकेर होइन, आफ्नै बलमा चुनाव लड्ने तयारी गर्दैछौँ । माओवादी एकचोटी आउनैपर्छ भन्ने जनताको अभिमत छ ।’

OM Sai Pathibhara Hospital

अध्यक्ष प्रचण्डले अरू पार्टी आफूसँग गठबन्धनका लागि आउने बताए । ‘माओवादी प्रति सकारात्मक जनमत बनेको छ । हामी होइन, हेर्नुहोला । अरू सबै पार्टी माओवादीसँग तालमेल गर्न आउनुपर्छ,’ उनले भने, ‘किनभने देशको परिवर्तनको बाहक हामी हो । यो चेतना सबैलाई आउँदै छ ।’

२०६४ को चुनावमा समेत माओवादीलाई कसैले नपत्याउँदा जनताले बहुमत दिएको स्मरण गर्दै प्रचण्डले भने, ‘हामी ६४ मा शान्ति सम्झौता गरेर आउँदा पनि चुनाव जित्छ भन्ने अवस्था थिएन । पुराना दलले ५ सिट आउँछ होला भन्थे । कहिले १० सिट दिन्थे । तर जनताले यथार्थ देखाइदिए । प्रत्यक्ष निर्वाचनमा हामी बहुमत हो ।’

अहिलेको गठबन्धन संविधान र राष्ट्रियताको रक्षाका लागि भएको भन्दै उनले प्रतिनिधिसभा खारेज भएको भए देश अँध्यारो सुरुङमा छिर्ने उनको भनाई छ । गठबन्धनबाटै त्यस्तो प्रवृत्ति परास्त गरेको उनले सुनाए । यो गठबन्धन तत्काल नटुट्ने प्रचण्डले बताए ।

‘अहिले नै एमालेसँग गठबन्धन भइहाल्छ भन्न खोजेको होइन । राजनीतिमा असम्भव भन्ने केही छैन भन्ने कुरा पटक पटक भनेको छु । केपी जीलाई २ पटक प्रधान मन्त्रीको प्रस्ताव मैले नै गरेको हो । शेरबहादुर जी लाई २ पटक प्रधान मन्त्रीको प्रस्ताव मैले नै राखेको हुँ,’ एमालेसँग तालमेल हुने कुरामा पत्रकारले राखेको प्रश्नमा उनले भने, ‘राजनीतिमा असम्भव केही नहुने रहेछ नि । 

केपीले मलाई र हाम्रो पार्टीलाई कहिल्यै प्रस्ताव गर्नुभएन । शेरबहादुर जीले एक पटक मलाई गर्नुभयो । यदि नेपाली कांग्रेसले भाषा सुन्नै गाह्रो हुने गरी पाखा लगाउँछ भने विकल्प खोज्नुपर्छ । अहिले हामी त्यता सोचेका छैनौँ । यही गठबन्धनलाई लिएर जानुपर्छ ।’