बिर्तामोड / नेकपा एमालेका अध्यक्ष केपी ओली आसन्न स्थानीय निर्वाचन र भावी आम निर्वाचनलाई लक्षित गरेर यतिबेला देश दौडाहामा छन् । एमाले एक्लैले निर्वाचन जित्ने दावी गर्दै ओली यतिबेला अन्य दलका नेता तथा कार्यकर्ता आफ्नो दलमा भित्राउने काममा व्यस्त रहेका छन् ।

अघिल्लो निर्वाचनमा माओवादी केन्द्र र राप्रपासँगको चुनावी तालमेलका कारण झापा ५ बाट विजय भएका उनी यतिबेला पार्टी विभाजन अनि माओवादी केन्द्र र राप्रपासँगको दूरी बढेकाले सहज विजयका लागि अन्य निर्वाचन क्षेत्रमा जान तयारीमा लागेको एमाले उच्च स्रोतले जानकारी गराएको छ ।

OM Sai Pathibhara Hospital

ओली निर्वाचित भएको क्षेत्र झापा ५ मा एमालेको संगठन अन्य दलको भन्दा बलियो र राम्रो रहेको भएपनि तत्कालीन एमालेमा नै विभाजन भएको अनि विगतमा आफूलाई विजयी गराउन सहयोग गरेका माओवादी केन्द्र र राप्रपाले यसपटक साथ नदिने अवस्था आएपछि उनले सहज जितका लागि अन्य क्षेत्रमा जान लाई आन्तरिक रुपमा तयारी सुरु गरेको बताईएको छ ।

एमालेले राप्रपाको सहयोग विना ओलीलाई सहज विजय कठिन भएको निष्कर्ष निकालेकाले सुरक्षित क्षेत्रको खोजी भइरहेको एमाले स्रोतको भनाई छ । राप्रपा छोडेका कमल थापासँग सहकार्य गर्न एमाले अध्यक्ष ओली तयार देखिएका कारण झापामा राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा बलियो भएकाले उनीसँग तालमेल हुने सम्भावना भने कम रहेको छ ।

दमक क्षेत्रमा राप्रपाले कांग्रेस वा माओवादीको उम्मेदवारलाई मतदान गरेको अवस्थामा एमाले अध्यक्ष ओलीका लागि विजय हुन कठिन रहेको छ । दमकमा प्रभावशाली मानिएका माओवादी नेता गगन पुरी केपी ओली प्रधानमन्त्री हुँदा नै जग्गा विवादमा पक्राउ परेका थिए । दमक नगरक्षेत्रमा प्रभावशाली मानिएका पुरीको पूर्ण असहयोग पनि ओलीका लागि टाउको दुखाई बन्ने एमालेको बुझाई रहेको छ ।

ओलीको निर्वाचन क्षेत्र झापा ५ मा पुरी, गिरीलगायतका दशनामीको संख्या ठूलो रहेकाले माओवादी नेता पुरीले त्यो मत प्रभावित पार्ने एमालेको विश्लेषण रहेको छ । सत्तारुढ दलले गठबन्धन नै बनाएर एमाले अध्यक्ष ओलीविरुद्ध निर्वाचन लड्ने अवस्था आए ओलीको पराजय निश्चित देखेर नै ओलीलाई अन्य निर्वाचन क्षेत्रबाट लडाउने सम्भावना बढ्न थालेको एमालेका एक केन्द्रिय नेताले जानकारी गराएका छन् ।

२०७४ सालमा भएको निर्वाचनमा दमक नगरपालिकामा एमाले १०८०६, राप्रपा ७६५५, माओवादी ६८९८, र कांग्रेसले  ५५३७ मत ल्याएका थिए । क्षेत्र नम्बर ५ को कमल गाउँपालिकाबाट एमाले ८२७५ र कांग्रेसले पनि ८२७५ मत ल्याएका थिए ।  गौरादह नगरपालिकामा कांग्रेसले ९८५४, एमाले ५०७२ र माओवादीले  २४४९ मत प्राप्त गरेका थिए ।  

गौरीगञ्ज गाउँपालिकामा राप्रपा ३७४०, कांग्रेस ३४५३,  माओवादी ३११८ र एमालेले २१०४ मत ल्याएका थिए । २०७४ को चुनावमा धेरै मतदाता भएको दमकको मेयरमा एमालेका मेयर झिनो मतान्तरले विजयी भएका थिए । एमालेसँग राप्रपा र माओवादी केन्द्रले कडा चुनौति दिएका थिए । मेयरमा पराजित राप्रपाका नेता राम थापाले दोस्रो मत ल्याएका थिए भने माओवादीका गगन पुरी तेस्रो बनेका थिए । 

यसपटकको निर्वाचनमा पनि थापा र पुरीको समर्थन जुन पार्टीलाई हुन्छ त्यही पार्टीले दमकमा विजयी हुने एमालेले पूर्वानुमान गरेको छ । एमाले नेताहरूले ओलीले निर्वाचन क्षेत्र परिवर्तन गर्ने कुरा हावादारी भएको दावी गर्न थालेका छन् । उनीहरुले ओली विजयी हुनेमा कुनै शंका नरहेको अनि आफ्नो पार्टी अन्य दलसँग नडराएको समेत दावी गर्ने गरेका छन् ।

दलहरु बिचको फेरिएको सम्वन्ध अनि पार्टी विभाजनका कारण एमाले अध्यक्ष ओलीलाई  जिताउन नसकीने भएकोले ओली झापा २ बाट निर्वाचन लड्न सक्ने समेत अनुमान गर्न थालिएको छ । झापा ५ को विकल्पका रुपमा झापा २ र भक्तपुरमा महेश बस्नेतको निर्वाचन क्षेत्रलाई हेरेर ओलीले आफू निकट नेताहरुसँग छलफल थालेको समेत चर्चा राजनितीक वृत्तमा सुरु भएको छ ।

अघिल्लो निर्वाचनमा झापा  ५ बाट ओली ५७ हजार १ सय ३९ मतसहित विजयी भएका थिए । दोस्रो बनेका कांग्रेस उमेद्धार खगेन्द्र अधिकारीले २८ हजार मत ल्याएका थिए । यसपटक कांग्रेस भित्र पनि ओलीको निर्वाचन क्षेत्रमा बलियो उमेद्धार उठाउने विषयमा छलफल सुरु भएको छ ।

 विगतमा ओलीलाई माओवादीबाट उमेद्धार बनेर पराजित गर्न सफल बनेका विश्वदिप लिङ्देनलाई अन्य दल समेतको साथमा पुन यसपटक पनि ओली विरुद्ध चुनावी मैदानमा उतार्ने विषयमा सत्तारुढ दलभित्रै समेत छलफल सुरु भएको बताईएको छ ।